आहाँ गोदावरीमा प्याराग्लाइडिङको रोमाञ्चक खेल

५ बर्ष अगाडि

गोदावरी – खुला आकाशमा चराझैँ उड्न चाहने साहसिक खेलमा रमाउन उपत्यकावासीले अब बाहिरी जिल्ला धाउनु पर्दैन । 

हावाको बेगमा रम्दै सुन्दर हरियाली, विभिन्न हिमशृङ्खला र उपत्यका एकैसाथ हेरेर रमाउन महत्वपूर्ण गन्तव्य बन्न पुगेको छ ललितपुरको गोदावरी । उक्त अवसर छोप्दै चलचित्र अभिनेता नाजिर हुसेनले केही दिन अघि गोदावरीमा साहसिक खेल ९प्याराग्लाइडिङ० को मजा लिनुभयो । 

कुनै पनि चलचित्रमा आकाशबाट अभिनय नगरेका हुसेनले वास्तविक जीवनमै पहिलोपटक उडेर अविस्मरणीय क्षण सङ्गाल्नुभयो । “सोच्थेँ प्लेनमा चढेजस्तै हुन्छ होला, घरहरु कार्टुनजस्तै देखिन्छ होला, तर होइन रहेछ, पहिलोपटक यति तलबाट उडेर अनुभव सङ्गाल्दा अविश्मरणीय बन्यो”, हुसेनले भन्नुभयो । 

उड्ने बेलामा केही सेकेण्ड कुद्नु पर्छ । कुद्दा अनि आकारमा अप एण्ड डाउन तथा स्वीप हुँदा अलि डरजस्तो लागे पनि त्यसको आनन्द छुट्टै रहेको भन्दै हुसेनले एक किसिमको प्यारासुटसँगको खेलको अनूभूति गराएको सुनाउनुभयो । अघिल्लो हप्ता गायक सागर आलेले पनि गोदावरीको चापाखर्कमा पुगेर प्याराग्लाइडिङमा चराझैँ उडेर नयाँ अनुभव लिनुभयो । आलेले भन्नुभयो, “शुरुमा डर महसुस भएको थियो, जब पाइलटले ब्रिफिङमा ९९ प्रतिशत सुरक्षित हुन्छ भने, अनि उडीहालौँ झैँ लाग्यो ।” 

आकासमा उड्दा उहाँले प्रेमको साम्राज्य र खाइदेउ गोरी बोलको गीतसँगै नारायणगोपाल, अरुण थापालगायत गायकका चर्चित गीतसमेत गाएर मनोरञ्जन लिनुभयो । पोखरामा प्रख्यात साहसिक पर्यटनको रुपमा चिनिने प्याराग्लाइडिङ अब उपत्यकामै पाउनु खुशीको कुरा भएको यहाँ पुग्ने पर्यटकको भनाइ छ । 

डेढ दशक अघि पोखराको सराङकोटबाट शुरु भएको साहसिक खेल अहिले विभिन्न जिल्लामा फैलँदै छ । देशको राजधानी रहेको उपत्यकामै प्याराग्लाइडिङ सञ्चालन भएपछि मजा लिन अब पोखरा धाउनुपर्दैन । 

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक लिलाबहादुर बानियाँ गोदावरीको यो एउटा मात्रै प्याराग्लाइडिङ स्पट, साहसिक पर्यटनका लागि महत्वपूर्ण आयाम भएको बताउनुहुन्छ । काठमाडौँबाट तुरुन्त जान सकिने यो नयाँ गन्तव्यका कारण पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको बानियाँले बताउनुभयो । 

नेपाल भ्रमण वर्ष सन् २०२० मा २० लाख बढी पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ । यसलाई पूरा गर्न यसले ठूलो मद्दत गर्ने छ । 

रु तीन करोड लगानी 

विगतका बन्द हुँदै र खुल्दै आएको प्याराग्लाइडिङ हाल रु तीन करोड लगानीमा पुनः यही डिसेम्बर अन्तिमबाट सञ्चालन गरिएको हो । यो अवधिमा ३०० फ्लाइट भइसकेको छ । 

काठमाडौँ प्याराग्लाइडिङ एण्ड ह्याङ ग्लाइडिङ प्रालिको व्यवस्थापनमा चल्दै आएको छ । यसका निर्देशक नीरज पन्तले दृष्यावलोकनका लागि महत्वपूर्ण क्षेत्र भएर पनि उचित प्रचारप्रसार हुन नसक्दा व्यवसाय सन्तोषजनक हुन नसकेको बताउनुभयो । 

सन् २००७ मा पूर्वमन्त्री केशव स्थापितले संस्था स्थापना गरी प्याराग्लाइडिङ उडाउने पहल थाल्नुभएको थियो । सन् २०११ देखि १४ सम्म राम्रो चलेको थियो । भूकम्पछि भने खासै चल्न नसकेको पन्तले बताउनुभयो । कोरियाली च्याङ जिङ ख्वानसहित नेपाली व्यवसायी नारायण अर्याल, विनोद शाह, कुमार घिमिरे र ट्रिप कन्सर्नको रु तीन करोड बढीको लगानीमा यही अहिले पुनः सञ्चालनमा ल्याइएको हो । 

यहाँको क्षमता दिनमा २५ वटा फ्लाइट गर्न सक्ने छ । छ वटा ग्लाइडर छ । गोदावरीको दुई हजार १०० मिटरमाथि चापाखर्कबाट शुरु हुने प्याराग्लाइडिङ एक हजार ६०० मिटरको उचाइमा रहेको रचनटारमा आएर ल्याण्ड हुन्छ । पोखराभन्दा उच्च स्थानबाट यहाँ उडान हुन्छ । 

काठमाडौँबाट १५ किलोमिटर गोदावरी वनभोजस्थलमा गाडीको सहज यात्रापछि करीब झण्डै पाँच किलोमिटर जङ्गलको कच्ची बाटो उकालो लागेपछि आउँछ चापाखर्क । यहाँबाट १५ देखि ३० मिनेटको उडान भर्न सकिन्छ । हावाको बेगमा भर पर्ने भएकाले कहिलेकाहीँ उडान लम्बिन सक्छ भने कहिले नहुन पनि सक्छ । 

उडानका लागि सरकारले निश्चित क्षेत्र तोकेको छ । त्योभन्दा बाहिर जान पाउँदैन । अहिले प्रारम्भिक चरणमा दैनिक दुईदेखि पाँच वटासम्म उडान भर्दै आएको छ । कुनै दिन २० सम्म उडान भरेको अनुभव सञ्चालकको छ । 

प्याराग्लाइडिङ चढ्न नेपालीलाई फोटो, भिडियो र काठमाडौँ आउने जाने यातायातसम्म जोडेर रु आठ हजार शुल्क लाग्ने भए पनि अहिले प्रवद्र्धन समय रहेकाले विशेष छुट गरी रु छ हजार ५०० मा उडान गरिरहेको छ । विदेशीलाई रु ११ हजार ३०० शुल्क लाग्छ । 

यहाँको मुख्य विशेषता भनेको डाँडाकाँडा, हरियाली वन र सुन्दर उपत्यकालाई नियाल्न सकिन्छ । स्वच्छ हावापानी, रोमाञ्चक दृष्यावलोकनसँगै मौसम खुल्दा लाङटाङ हिमशृङ्खलासँगै गणेश, गौरीशङ्करलगायत हिमाल देख्न सकिन्छ । 

नगरकोटबाट देखिने सबै हिमाल देखिने र सुन्दर उपत्यकासमेत नियाल्न पाउने भएकाले पनि यहाँ प्याराग्लाइडिङ गर्दाको मजा छुट्टै छ । उपत्यका नजिकै शङ्करापुरमा पनि अहिले प्याराग्लाइडिङ सञ्चालनमा छ । नेपालमा करीब २०० पाइलट छन् भने ६५ प्याराग्लाइडिङ कम्पनी छ । 
थर्मल ९तातो हावा० पायो भने घुमेरमाथि पनि चढ्न सकिन्छ । बुधबार दिनभर हावा उल्टो बहेकाले चार वटा फ्लाइट हुन सकेन । आज चार फ्याइटको बुक भएको छ । हावाको बहावसँग खेल्ने भएकाले हावा राम्रो भयो भने दुई हजार ५०० मिटर माथिसम्म जान सकिन्छ । 
आठ वर्षदेखि उडान भर्दै आउनुभएका पाइलट बवि राउतले हरेक क्षेत्रको आआफ्नै विशेषता भएको बताउँदै हरियाली वनजङ्गल, उपत्यकाको दृष्यावलोकन र हिमशृङ्खला अवलोकनका लागि गोदावरी महत्वपूर्ण गन्तव्य भएको बताउनुभयो । 

५ बर्ष अगाडि

प्रतिक्रिया