नेपालको बाम आन्दोलन र माक्र्सवाद

६ बर्ष अगाडि

 –समिर सिंह

    ५ मई १८१८ का दिन जर्मनीमा कार्ल माक्र्सको जन्म भयो । द्वन्दात्मक भौतिकवादी विश्व दृष्टिकोणलाई आधार मान्दै एंगेल्ससित मिलेर वहाँले कम्युनिष्ट घोषणापत्र लेख्नुभयो । जसको प्रमुख नारा थियो, ‘संसारका मजदुर एक होऔं’ । जर्मन दर्शन, बेलायतको अर्थशास्त्र तथा फ्रान्सको समाजशास्त्रलाई संयोजन गर्दै माक्र्सवादलाई एउटा विज्ञानको विकास गरियो । पूँजी तथा अतिरिक्त मूल्यको सिद्धान्तका आधारमा पूँजीवादी समाजको नकारात्मक चरित्रको उजागर गरियो । यसरी विकास भएको माक्र्सवादलाई विभिन्न देशमा प्रयोग गरियो । जसमध्ये सन् १९१७मा लेनिनको नेतृत्वमा रुसमा क्रान्ति भयो । सन् १९४९मा क.माओको नेतृत्वमा चीनमा क्रान्ति भयो । त्यस्तै अन्य थुप्रै देशहरूमा पनि समाजवादी क्रान्तिहरू भए ।  
    माक्र्सवादलाई नेपाली भूमिमा प्रयोग गर्ने उदेश्यले २००६ साल वैशाख १० गते ( २२ अप्रिल १९४९) का दिन लेनिन जयन्तीको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो । नेपाली समाजको आमूल परिवर्तन गर्ने अर्थात सामाजिक तथा राजनीतिक विसंगतिहरूको अन्त गर्दै नयाँ नेपालको दिशामा अगाडि बढीरहने प्रतिबद्धता गरियो । त्यस्तै नयाँ जनवादी क्रान्तिको दिशामा निरन्तररूपमा अगडि बढीरहने सो पार्टीको उदेश्य थियो । 
     कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने सन्दर्भमा अर्थात् माक्र्सवादलाई नेपाली भूमिकामा प्रयोग गर्दै जाँदा विभिन्न प्रकारका चुनौतीहरू पनि उत्पन्न हुँदै गए । वैधानिक राजतन्त्र स्वीकार गर्ने कि नगर्ने ? यो विषयमा सर्वप्रथम कम्युनिष्ट पार्टीमा राजनैतिक विवादको सुरूवात् भयो । २०१२ सालबाट शुरू भएको त्यस प्रकारको दुई लाइनको सङ्घर्ष, ०१४ सालमा भएको दोस्रो महाधिवेशनको कालसम्म झनै शसक्त रूप लियो । यस प्रकारको राजावादी विचार पार्टीमा मौलाउदै गएकाले कम्युनिष्ट आन्दोलनले गम्भीर क्षति बेहोर्नु प¥यो । 
    सन् १९६१ मा भारतको दरभंगामा १ महिनासम्म चलेको प्लेनममा तिव्र राजनैतिक अन्तरविरोध चल्यो । क.केशरजंग रायमाझीको संसदीय व्यवस्थाको लाइन, क.पुष्पलालको विघटित संसदको पूर्नस्थापनाको लाइन र क.मोहनविक्रम सिंहको संविधान सभाको चुनावको लाइन गरी तीन वटा लाइन त्यहाँ देखा परे । प्लेनमले क.मोहनविक्रमको लाइनलाई पारित गरे पनि केन्द्रिय समितिमा वहाँ एक्लो भएकाले रायमाझीको लाइनलाई पार्टी नीतिको रूपमा पारित गरियो । त्यसप्रकारको अराजकतावादी संस्कार पनि कम्युनिष्ट पार्टीको इतिहासमा मौलाउदै गएको हामी पाउछौं । 
    सन् १९५६मा स्टालीनको मृत्युपश्चात् निकिता ख्रुश्चेव सत्तामा आए । र, उनले कम्युनिष्ट पार्टीका आधारभुत सिद्धान्तहरूलाई परित्याग गर्दै संसोधनवादी विचारहरू ल्याए । रूसको पार्टी, ‘सबै जनताको पार्टी’ भनेर उनले सैद्धान्तिक रूपमा माक्र्सवादमाथि आक्रमण गरे । र, रसियन कम्युनिष्ट पार्टीलाई पूँजीवादी कम्युनिष्ट पार्टीमा परिणत गर्न आधार तयार पार्दै गए ।  बर्नस्टीन, कार्ल काउत्स्की आदिको संशोधनवादी विचारहरूलाई नयाँ रूप र रङ्ग दिएर पूर्नस्थापित गरियो । बर्नस्टीनले पूँजीवादबाट समाजवादमा शान्तिपूर्ण तरिकाले अवतरण गर्न सकिने मान्यता राख्दथे । त्यस्तै कार्ल काउत्स्कीले लेनिनको सर्वहारा अधिनायकत्वको सिद्धान्तलाई परित्याग गर्दै शान्तिपूर्ण संक्रमणको सन्दर्भमा ‘सम्पूर्ण जनताको पार्टी, सम्पूर्ण जनताको राज्य’ जस्ता अवधारणाहरू ल्याएका थिए । 
    द्वितीय अन्तराष्ट्रियमा देखिएका यस प्रकारका संशोधनवादी विचारधाराको प्रत्यक्ष असर, रूसी कम्युनिष्ट पार्टीमा पनि देखियो । जसको विरोधमा दूनियाभरिका माक्र्सवादी–लेनिनवादीहरू उभिए । र, ती क्रान्तिकारीहरूको नेतृत्व क.माओले गर्नुभयो । यसै सन्दर्भमा सोवियत संघको खुलापत्र माथि टिप्पणी गर्दै वहाँले भन्नु भएको छ, ‘जहिलेसम्म फौजी–नोकरशाही संयन्त्रमाथि पूँजीपति वर्गको कब्जा रहन्छ, त्यति बेलासम्म सर्वहारा वर्गले संसदमा स्थायी बहुमत प्राप्त गर्नु असंभव हुन्छ वा स्थायी बहुमत अविश्सनीय सिद्ध हुन्छ । संसदीय मार्गबाट समाजवाद हासिल हुने कुरा असंभव र धोका मात्र हो ।’ यसरी अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा संसदीय बाटो तथा शान्तिपूर्ण संक्रमणको बाटोलाई रणनीतिक विषय बनाउने जस्तो संशोधनवादी धारणा सशक्त रूपमा विकसित भएको पाइन्छ । तर त्यसका साथै दूनियाभरिका माक्र्सवादी–लेनिनवादीहरूले त्यस प्रकारका संसोधनवादी विचारधाराको सशक्त रूपमा प्रतिकार गरेको पनि पाइन्छ । 
    अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा देखापरेको दुई लाइनको सङ्घर्षको प्रत्यक्ष असर नेपालको कम्युनिष्ट आन्दोलनमा पनि देखा प¥यो । रूसवादी हुने कि चीनवादी ? यस प्रकारको दुई धार, नेपालको कम्युनिष्ट आन्दोलनमा पनि देखा पर्यो । सन् १९७२ पछि पार्टीभित्र रूस–चीन विवादले तीव्र रूप लियो । ‘नयाँ जनवादी क्रान्ति वा राष्ट्रिय प्रजातन्त्र’, यो विषयमा मत विभाजन हुन थाल्यो । यो विवाद तीव ्ररूपमा बढ्दै जाँदा केन्द्रको जिल्लासितको सम्पर्क टुट्दै गयो । यस प्रकारको जटिल अवस्थामा २०२३ सालतिर कम्युनिष्ट पार्टी करिब–करिब विघटनको अवस्थामा पुग्यो ।
    भारतमा क.चारूमजुमदारको नेतृत्वमा चलेको शसस्त्र आन्दोलनको नक्कल गरिदा झापा विद्रोहजस्तो उग्र‘बामपन्थी’ भडकावको स्थितिबाट पनि गुज्रिनुपर्ने स्थिति आयो । यो विद्रोह, कम्युनिष्ट पार्टीको नेतृत्वसित असमहति राख्दै स्वतन्त्ररूपमा कार्यरत् पूर्व कोशी प्रान्तीय कमिटी अन्तरगत झापा जिल्ला कमिटीले गरेको थियो । २०२८ साल वैशाख १० गते देखि ‘वर्ग शत्रु’ खतम गर्न गुरिल्ला संघर्ष भनेर यस प्रकारको विद्रोहको सुरूवात् गरिएको थियो । त्यस प्रकारको अपरिपक्व क्रियाकलापबाट बच्न पनि कम्युनिष्ट पार्टीले ठूलो सङ्घर्ष गर्नु प¥यो ।
    २०२८ साल मंसिरमा क.मनमोहन अधिकारीको संयोजकत्वमा केन्द्रिय न्यूक्लसको गठन भयो । राजनैतिक लाइन निर्धारण गर्ने सन्दर्भमा क.मोहन विक्रमले कम्युनिष्ट पार्टीको मातहतमा तथा किसान–मजदुरको नेतृत्वमा नयाँ जनवादी सरकार गठनको अवधारणा ल्याउनु भयो भने क.शम्भुराम, क.मनमोहनहरूले देशभक्त र जनतान्त्रिक शक्तिको सरकारको अवधारणा ल्याउनु भयो । यस प्रकारको विवाद बढ्दै जाँदा पनि कम्युनिष्ट पार्टीको एकतामा दरारको स्थिति सिर्जना भयो ।
    त्यस्तै ०३६ सालमा राजाद्वारा घोषणा गरिएको जनमत संग्रहको विषय, ०३६ सालको आन्दोलनपछि पञ्चायती चुनावलाई उपयोग गर्ने या बहिष्कार ? आदिजस्ता विषयहरूले पनि गम्भीर रूपमा विवादित रूप लिन पुग्यो । यसप्रकारका अन्र्तविरोधपूर्ण विषयहरूले बाम राजनीतिलाई विभाजित गर्दै लग्यो ।
    केन्द्रिय न्यूक्लस हुँदै अघि बढेको कम्युनिष्ट पार्टी चौथो,पाँचौ महाधिवेशन हुँदै अगाडि बढ्दै जाँदा विभिन्नप्रकारको भड्काव तथा अवसरवादी प्रवृतिहरू देखिदै गए । यसप्रकारका गलत प्रवृत्तिहरूको विकासले कतिपय बामशक्तिमा गलत चिन्तन र संस्कार पनि मौलाउदै गयो । जसको परिणामस्वरूप गंभीरप्रकारका राजनैतिक दुर्घटनासम्म हुन पुग्यो ।
    नेपालको बाम आन्दोलनमा गलत चिन्तन हावि हुँदै जानुमा अन्तर्राष्ट्रिय रूपमा कम्युनिष्ट आन्दोलनको प्रतिकूल अवस्था पनि हो । जस्तो कि सन् १९७६मा चीनमा प्रतिक्रान्ति भयो । क.माओपछिका नेता देङ स्याओ पिङले ‘मुसा समात्न कालो बिरालो वा सेतो बिरालो जे भए पनि हुन्छ’ भन्दै समाजवादी चीनलाई पूँजीवादी चीनमा बदल्न आधार तयार पार्दै गए । र, बिस्तारै त्यहाँको समाजवादी संरचना पूर्णरूपमा ध्वस्त भयो । कुनैबेला समाजवादको किल्ला रहेको सोवियत यूनियन झनै पतन हुँदै गयो । सन् १९८५ सम्म मिखाइल गोर्वाचोवको ग्लास्नोस्त (खुलापन) र पेरेस्त्रोइका(पूनःसुधार) ले समाजवादलाई पूर्णरूपमा ध्वस्त बनाइदियो । यो नीतिका आधारमा विदेशी पूँजीलाई नियन्त्रण गर्न छाडियो, निर्जी सम्पतिलाई प्रोत्साहन गर्न थालियो । यही नीतिका कारण पोलेण्ड, हङ्ंग्री, पूर्वी जर्मनी, चेकोवास्लीया, बुल्गारिया, रोमानीया, यूगोस्लावियामा रहेको समाजवादको अंश पनि समाप्त भयो । 
    अन्तराष्ट्रिय रूपमा समाजवादी मुलुकहरू ध्वस्त हुँदै जाँदा नेपालको बाम आन्दोलन, विभिन्न प्रकारका युद्ध, हिंसा, जनआन्दोलनको चरण हुँदै अहिलेको स्थितिसम्म आइपुगेको छ । यस प्रकारका युद्ध, हिंसा आदिका केहि सकारात्मक पक्ष होलान् र केहि नकारात्मक पक्ष पनि । झापा विद्रोह तथा माओवादी ‘जनयुद्ध’का दौरानमा थुप्रै क्रान्तीकारी जनताको सहभागिता पनि भयो । उनीहरूको क्रान्तिकारी स्प्रिटलाई अर्थात सामन्तवाद तथा प्रतिक्रियावाद विरूद्धको उनीहरूको आक्रोश, बहुसंख्यक श्रमजीवी जनता प्रतिको लगाव त्यसका साथै उनीहरूको हिम्मत र साहसलाई हामीहरूले उच्चरूपमा मूल्यांकन गर्नुपर्दछ । तर नेतृत्व पंक्तिको उग्र‘बामपन्थी’ सोंच र दृष्टिकोणले गर्दा यस प्रकारका युद्धहरूको  सकारात्मक परिणाम निस्कन सकेन । 
५ मई २०१८का दिन कार्ल माक्र्स जन्मेको २ सय बर्ष पुरा हुँदै छ । यो दुई सय बर्षको अवधिमा विश्व कम्युनिष्ट आन्दोलनमा थुप्रै उतार–चढावहरू भएको हामी पाउँछौं । कुनै समयमा माक्र्सवादका मूल्य मान्यताहरूलाई पक्रदै समाजवादी तथा जनवादी आन्दोलनहरूमा निकै उभार आयो भने हालका दिनहरूमा विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको स्वीकार गर्नु पर्ने नै हुन्छ । ‘माक्र्सवाद फेल भयो’ भन्दै माक्र्स र लेनिनका शालिकहरू ढाल्ने कार्य पनि हुँदै छ । कमजोर हुँदै गैरहेको भारतको बाम आन्दोलन, पराजीत हुँदै गैरहेको उनीहरूको संसदीय राजनीतिलाई एउटा उदाहरणको रुपमा लिन सकिन्छ । भर्खरै त्रिपुरा राज्यको बेलोनीयाको घटनाले पनि त्यो कुराको पुष्टि गर्दछ । 
नेपालको स्थिति अलि फरक खालको छ । विश्वव्यापी रूपमा बामपन्थी आन्दोलन कमजोर हुँदै गएपनि नेपाली जनतामा यस प्रकारको आन्दोलनमा ठूलो आशा र विश्वास छ । नेपाली जनताले बाम राजनीति गर्नेहरूलाई अत्यधिक मतदान गर्नुले पनि त्यो कुराको सङ्केत गर्दछ । अहिलेसम्म देशमा राष्ट्रियता र जनतन्त्रका पक्षमा चल्दै आइरहेका आन्दोलनहरूमा उनीहरूको सशक्त भूमिकाले पनि त्यो कुराको पुष्टि गर्दछ । 
बहुदलीय जनवादलाई आफ्नो मार्गनिर्देशन सिद्धान्त मान्ने नेकपा(एमाले) र २१औं शताब्दीको जनवादको आधारमा आफूलाई परिमार्जित गर्दै आएको नेकपा(एमाओवादी) बीच कम्युनिष्ट पार्टी गठन भएको दिन पारेर बैशाख १० गते पार्टी एकता गर्ने घोषणा गरेका छन् । र, यी दुई पार्टीले नै  वर्तमान सरकारको नेतृत्व गरिरहेका छन् । यी पार्टीहरूका कैयौं सैद्धान्तिक तथा राजनीतिक विषयमा मतैक्यता नहुन सक्छ । तर पनि अन्तराष्ट्रिय राजनीतिमा बामपन्थी शक्ति कमजोर हुँदै गैरहेको सन्दर्भमा नेपालमा यसप्रकारको बामपन्थी सरकारको निर्माणको बिषयलाई पनि एउटा महत्वपूर्ण उपलब्धिको रूपमा लिनुपर्ने नै हुन्छ । 
जब परमाणुको खोज भयो, त्यो समयमा माक्र्सवादको निर्माण भयो । तर अहिले परमाणुको विखण्डन भैसकेको छ । इलेक्ट्रन, प्रोटन हुँदै फोटानसम्मको खोज भैसकेको छ । सन् २०१२ मा त गड्स पार्टिकल (हिग्स बोसान) को पनि खोज भैसक्यो । यो अवस्थामा माक्र्सवाद सान्दर्भिक नहुने तर्क पनि गरिदैछ । तर नेपालको सन्दर्भमा हामीले बुझ्नुपर्ने कुरा के हो भने ‘माक्र्सवाद भनेको परिवर्तन’ हो । र, नेपाली समाजमा थुप्रै परिवर्तनहरू हुदै आएका छन् । ०७ साल, ०४६ साल तथा ०६२–०६३ सालको परिवर्तनलाई हामीले महान् सफलताको रूपमा मूल्यांकन गरिनुपर्दछ । यसप्रकारको परिवर्तनमा क्रान्तिकारी नेपाली जनताको ठूलो योगदान छ । यही परिवर्तनका कारण निरंकुशताको पर्खालमा बाँचीरहेका नेपाली जनता, केही हदसम्म भएपनि प्रजातान्त्रिक तथा गणतान्त्रिक वातावरणको अनुभूुति गर्न पाइरहेका छन् । यो पनि एक प्रकारको माक्र्सवादको सफलता हो । यस प्रकारको सफलताले पनि माक्र्सवाद सही भएको प्रमाणित हुन्छ । अन्तमा फेडरिख एंगेल्सको संकलित रचनाबाट यो धारणा, ‘संसार परिवर्तनशील छ भन्ने सिद्धान्त कहिल्यै परिवर्तन हुदैन बाँकि सबै कुरा परिवर्तनशील छ ।’


 

६ बर्ष अगाडि

प्रतिक्रिया