किन लाग्यो फोरम–राजपा एकता वार्तामा ‘ब्रेक’ !

५ बर्ष अगाडि

काठमाडौं–संघीय समाजवादी फोरम नेपालले एकीकरण वार्ताका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई पत्र पठाएको भएपनि वार्तामा ब्रेक लागेको छ । पत्रबारे राजपा नेपालले कुनै ‘रेस्पोन्स’ नगरेपछि एकता त के वार्ता समेतमा ब्रेक लागेको हो । 

फोरमले झण्डै तीन साताअघि एकीकरण वार्ताका लागि पत्र पठाएको भएपनि हालसम्म राजपाले कुनै ‘रेस्पोन्स’ नगरेको हो । 

जनकपुरमा फागुन १३ गते बसेको राजपा नेपाल अध्यक्षमण्डलको बैठकमा फोरम नेपालले पठाएको पत्र प्रस्तुत गरिएपनि त्यसबारे पर्याप्त छलफल नभएको एक नेताले जानकारी दिए । 

ती नेताका अनुसार बैठकमा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले पत्र प्रस्तुत गरेका थिए । पार्टी अध्यक्षमण्डलका संयोजक महेन्द्रराय यादवमार्फत आएको पत्र बैठकमा प्रस्तुत भएपनि अन्य नेताहरुले चासो नदिएको बताइएको छ । 

फोरम नेपालले एकीकरणका लागि वार्ता गर्न भन्दै समिति नै बनाइसकेको छ । गत मंसिर २३ गते सम्पन्न फोरम नेपालको केन्द्रीय समितिको बैठकबाट पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । 

वार्ता समितिको सदस्यमा उपाध्यक्ष रकम चेम्जोङ, महासचिव रामसहाय प्रसाद यादव, उपमहासचिव प्रकाश अधिकारी, सचिव इस्तियाक राइन र राजनीतिक समिति सदस्य महेन्द्र थापा रहेका छन् ।

फोरम नेपालले वार्ता समिति गरेपनि राजपा नेतालले आधिकारिक जानकारी नआएको बताउँदै आएको छ ।  राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले त्यतिबेला नै फोरम नेपालले वार्ता समिति गठन गरेको विषयमा आधिकारिक जानकारी नआएको र त्यसमा पनि फोरम नेपाल सरकारमा रहेकाले वार्ता हुन नसक्ने प्रतिकृया दिएका थिए । 

त्यतिबेला त्यस्तै प्रतिकृया अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले पनि दिएका थिए । 

तर, अहिले फोरम नेपालले लिखित पत्र नै पठाएपनि राजपा नेपालले कुनै ‘रेस्पोन्स’ नगरेको हो । 

राजपा अध्यक्षमण्डलका संयोजक महेन्द्रराय यादवले फोरम नेपालबाट पत्र आएको बताए ।  तर त्यसबारे पार्टीभित्र छलफल नै जारी रहेको उनको भनाई छ । अब राजपा नेपालको फागुन २२ गते बोलाइएको अध्यक्षमण्डलको बैठकमा यसबारे छलफल हुने अपेक्षा लिइएको छ । 

फोरम नेपालका सहमहासचिव प्रकाशले पनि वार्ताका लागि पार्टीले राजपा नेपाललाई पत्र पठाएको जानकारी दिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया