रेशम चौधरीलाई संसद्ले रोकेन, अदालतले रोक्यो

५ बर्ष अगाडि

 धनगढी – कारगारबाट झिकाएर प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गराइएका रेशम चौधरीलाई अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ । साढे तीन वर्षपहिले टीकापुरमा एक नाबालक र एसएसपीसहित ८ प्रहरीको हत्यामा संलग्न भएको ठहर गर्दै कैलाली जिल्ला अदालतले चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

कैलाली जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले टीकापुर घटनामा संलग्नलाई फरकफरक सजाय ठहर गर्दै बुधबार फैसला सुनाएको हो । पीडितका आफन्त मानबहादुर बोहरालगायतले ५८ जनाविरुद्ध मुद्दा दर्ता गरेकोमा २७ जना पुर्पक्षका लागी थुनामा थिए । उक्त मुद्दाका ३१ जना आरापित फरार छन् । अदालतले फरार रहेकाको कारबाही मुल्तबीमा राखेको छ ।

पुर्पक्षका लागि थुनामा रहेका २७ जनामध्ये ११ जनालाई हत्यामा संलग्न भएको ठहर गर्दै जन्मकैद सुनाएको छ । घटनाको नेतृत्व रेशम चौधरीले गरेको भन्दै उनलाई जन्मकैद सुनाइएको छ । यसैगरी जन्मकैद सुनाइनेमा हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भन्ने सीताराम चौधरी र गंगाराम डगौरा चौधरी छन् । श्रवण चौधरीलाई भने १६ वर्षमुनिको बालक देखिएकाले आधा सजाय ९१० वर्ष कैद० हुने फैसलामा उल्लेख छ । 
कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई गत पुस १९ गते पद तथा गोपनीयताको शपथ खुवाइएको थियो । नागरिक दैनिकमा खबर छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया