यसरी आए सिके मूलधारको राजनीतिमा

५ बर्ष अगाडि

 काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र र स्वतन्त्र मधेस गठबन्धनका डा. चन्द्रकान्त (सिके) राउतका दाजुबीच वार्ता सफल भएपछि शुक्रबार ११ बुँदे सहमति भएको छ। प्रधानमन्त्री ओलीसहित उनको सचिवालय टिम र सिकेका दाजु जयकान्त राउतबीच ‘स्वतन्त्र मधेस गठबन्धन’ मूलधारमा आउने/ल्याउने कार्य’ अन्तर्गत पटकपटक भएका गोप्य वार्ताको परिणाम शुक्रबार काठमाडौंमा देखिएको हो। यसअघि सोमप्रसाद पाण्डे नेतृत्वको सरकारी वार्ताटोलीसमक्ष राउतको ‘मूलधारमा आउने चाहना’ सम्बन्धी सन्देश पुगेको थियो। तर पछिल्लो तीन सातामा भएको वार्ताले मात्रै शुक्रबार औपचारिकता पाएको हो।

‘प्रधानमन्त्री तहमा घनीभूत छलफल यही महिनाभित्रै हुन पुगेको हो, त्यसका लागि दर्जनभन्दा बढी बैठक गरियो,’ जयकान्तले भने, ‘डा. साहेब (चन्द्रकान्त) र प्रधानमन्त्री तहमा पटकपटक सन्देश आदानप्रदान गरेर एउटा निष्कर्षमा पुग्न शुक्रबारमात्रै सफल भइयो।’ उनका अनुसार निष्कर्षको अन्तिम अवस्थामा मात्रै स्वतन्त्र गठबन्धनका वरिष्ठ नेता चन्दन सिंहलाई समेत सामेल गराएर वार्ता टुंगोमा पु-याउने काम गरिएको हो।

 गठबन्धनसँग जारी वार्ता निकै गोप्य राखिएको थियो । नेकपाका शीर्ष नेताले समेत वार्ताबारे थाहै पाएनन् ।
डा. राउतले आफ्नो मन्तव्यमा प्रधानमन्त्री ओलीले अग्रसरता लिएका कारण सफलता हासिल हुन सकेकोे उल्लेख गरेका छन्। ‘प्रधानमन्त्री स्वयंले पहल गरेर हामीलाई राजनीतिक अवतरण गराउनुभयो, आज यो राजनीतिक स्पेस दिनुभयो’, डा. राउतले सम्बोधनमा भने, ‘यसका लागि उहाँलाई धेरैधेरै धन्यवाद छ।’ राजनीतिक व्यवहार गरेको भन्दै यसअघिका प्रधानमन्त्रीलाई पनि डा. राउतले धन्यवाद दिन छुटाएनन्।

प्रधानमन्त्रीले छलफल गर्नुअघि पाण्डे नेतृत्वको वार्ताटोलीसँग छलफल गरे तापनि सो समयमा निष्कर्ष निस्केन तर पनि दाजु जयकान्तले प्रयास जारी राखे। ‘मैले मधेस गठबन्धनका नेताहरु वार्ता गर्न चाहन्छन्, सरकारलाई अलि दबाब गर्नुप¥यो भनेर पाण्डेजीलगायतलाई पटकपटक भेटेर भनें तर उहाँले वार्तामा आउँछन् र भनेर उल्टै प्रश्न गर्नुभएको थियो। पछि मैले सहमत गराएको थिएँ,’ जयकान्त सम्झन्छन्, ‘अलि दबाब दिएर मूलधारमा ल्याउन सकिन्छ भने पछि पाण्डेजीले माथिल्लो तहमा सन्देश पनि पु-याउनुभयो तर त्यही बेला डा. साहेबलाई पक्राउ गरियो, स्थिति थप अन्योलमा पुग्यो।’ त्यसपछि केही समय वार्ता अवरुद्ध हुन पुग्यो।

जयकान्तले पाण्डेसँग त्यो बेला डा. चन्द्रकान्त राउत सहमतिमा आउँछन् भन्ने सन्देशसहित ६ पटकसम्म सिंहदरबारमा भेटवार्ता गरेका थिए। ‘मधेस गठबन्धनले देश विखण्डनको माग राखेको छ, राजनीतिक रुपमा सो माग स्वीकार गर्न सकिँदैन भनेर जयकान्तजीलाई त्यही बेला स्पष्ट भनिदिएको थिएँ,’ पाण्डे सम्झन्छन्, ‘तर उहाँले देश विखण्डनको माग पनि छाड्छन्, वार्तामा पनि आउँछन्, सुरक्षित अवतरणका लागि भए पनि राज्यको तर्फबाट सहमतिको प्रयास गरेको देखियोस् भन्नुभएको थियो।’ स्वतन्त्र गठबन्धनले सरकारसँग वार्ता गर्न चाहेको सन्देश सोही समयमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीत्रय पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालसहित गृहमन्त्री रामबहादुर थापासमक्ष पनि पु¥याइएको थियो।

‘राजनीतिक मान्यता दिन नसकिने र त्यसमा छलफल नहुने तर गठबन्धनले उठाएका अन्य विषयमा छलफल गर्न सकिने’ भन्ने राय सबै नेताले त्यति बेला दिएको पाण्डे सम्झन्छन्। २०७५ भदौ ८ गते गठन भएको वार्ताटोलीको म्याद चार महिनामात्रै थियो, एक महिना म्याद थप गरे पनि अन्य समूह हतियारसहित वार्तामा आए पनि मधेस गठबन्धनसँग भने औपचारिक रुपमा बार्ता नै सुरु भएन।

त्यसै बीचमा डा. राउत रौतहटबाट पक्राउ परे। यसपटक उनी लामै समय जेलमा बस्नुपर्ने गठबन्धनका सदस्यले बुझिसकेका थिए भने गठबन्धनको गतिविधि पनि शून्यप्रायः हुँदै गयो। त्यसमाथि गठबन्धनका कार्यकर्ता धमाधम पक्राउ परेपछि वार्ताका लागि बाध्यात्मक अवस्था आइलाग्यो। ‘गठबन्धनमा पनि वार्ता गर्ने र नगर्ने भन्ने दुई धार देखा प¥यो अन्ततः राष्ट्रिय परिषद्को बैठकले वार्ताको पक्षमा जानुपर्ने भन्दै बहुमत सिद्ध गरिदियो,’ जयकान्त सम्झन्छन्।

जयकान्तले सुरुमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालमार्फत वार्ताको प्रसंग अघि बढाए। रिमालको सहयोग र सुझावमा प्रधानमन्त्रीसम्म जयकान्तको सोझै पहुँच पुग्यो। पछि चन्दन सिंह पनि जोडिन आईपुगे। उनी बालुवाटार पुगेपछि मात्रै वार्ता निष्कर्षतिर मोडिएको थियो। नागरिक दैनिकमा खबर छापिएकाे छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया