रेसुङ्गा वनमा फुलेको लालीगुराँसले पर्यटकलाई लोभ्याउँदै

५ बर्ष अगाडि

बेझाड – रेसुङ्गाको वनैभरि फुलेका लालीगुराँस फूलले पर्यटकलाई लोभ्याइरहेको छ । गुल्मी जिल्लाको प्रसिद्ध एवं धार्मिक वन रेसुङ्गामा अहिले गुराँस फुल्न थालेपछि पर्यटकको चहलपहल बढ्न थालेको छ । 

वनैभरि राताम्य फुलेका गुराँससँग दिनभर रमाउने र फोटो खिचाउने युवायुवतीको चहलपहल बढिरहेको छ । गुल्मी सदरमुकाम तम्घास बजारदेखि माथि रहेको रेसुङ्गा वनमा फुलेका गुराँस फूलले सबैको ध्यान तानिरहेको छ । अहिले यहाँ दिनहुँ सयौँभन्दा बढी आन्तरिक पर्यटक गुराँस फुलेको हेर्न जाने र रमाउनेको जमात बढ्दो छ । समुद्री सतहदेखि दुई हजार ३४७ मिटर उचाइ र तीन हजार ४०० हेक्टर क्षेत्रफलमा फैलिएको रेसुङ्गा वनैभरि गुराँस फूलले ढाकिएको छ । 

फागुन÷चैत महीनामा गुराँस फुल्न थालेपछि चहलपहल बढी हुने गरेको रेसुङ्गा वन संरक्षण समितिका सचिव मोतीप्रसाद खनाल बताउनुहुन्छ । “गुराँस फुलेको हेर्नकै निम्ति विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक भित्रिने गरेका छन्, गुराँस फूलले सबै उमेर समूहका व्यक्तिलाई लोभ्याइरहेको छ”, उहाँले भन्नुभयो । 

तम्घास बजारदेखि गाडीमा करीब आधा घण्टाको दूरीमा रेसुङ्गा वनमा पुगिन्छ भने पैदल हिँड्दा दुईदेखि तीन घण्टा समय लाग्छ । कोही गाडीमा, कोही पैदल हिँडेर रेसुङ्गा वनमा पुगेर राताम्य फुलेका गुराँसका बोटमा चढेर फूलसँग रमाउने र फोटो खिचाउने गरेको देखिन्छ । 

नेपालको राष्ट्रिय फूल गुराँस फुलेको दृश्यले मनका पीडा वेदना सबै हटाएको पाल्पाली सञ्चारकर्मी सुवास बिसीले बताउनुभयो । हरेक वर्ष गुराँस फुल्ने समयमा यस वनमा आएर फूलसँग रमाउने र आनन्द लिने गरेको उहाँले बताउनुभयो । “गुराँस फूलले वनैभरि ढाकेको देख्दा नआऊँ भने पनि मनले पटक्कै मान्दैन, हरेक वर्ष गुराँस फूल फुलेकै हेर्न मात्र भए पनि रेसुङ्गा वनमा आइरहेको हुन्छु” उहाँले भन्नुभयो । 

अहिले सडक स्तरोन्नति भएपछि पनि विभिन्न ठाउँबाट गुराँस फुलेको अवलोकन भ्रमण गर्न आउनेको आकर्षण बढ्दै गएको रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समिति गुल्मीका पूर्वकार्यकारी निर्देशक नरेश भण्डारी बताउनुहुन्छ । पौराणिक तथा धार्मिक महत्वसँग जोडिएको रेसुङ्गा वन लालीगुराँसका कारण पनि निकै प्रख्यात भएको छ । केही व्यक्तिले अवलोकन गर्न जाने निहुँमा फुलका हाँगा भाँच्ने र जथाभावीरूपमा फूल टिप्ने गर्दा सौैन्दर्यलाई बिगार्ने गरेको पाइएको छ । 

ठूलो क्षेत्रफलमा फैलिएकाले पनि यसको नियमित निगरानी गर्न समितिलाई कठिन परेको छ । यो फूलले सुन्दरता र सुगन्ध दिने मात्र नभई विभिन्न प्रकारका रोगलाई ठिक पार्ने भएको हुँदा पनि फूल टिपेर घरघरमा लगेर सजाएर राख्ने गरेको पाइन्छ । यस वनमा गुराँस फूलसँगै पाँचऔले, पाखनवेदजस्ता बहुमूल्य जडीबुटी पनि पाइन्छ । रेसुङ्गा वनले साविक ११ गाउँ विकास समितिलाई जोडेको छ । हालको रेसुङ्गा र मुसिकोट नगरपालिका, छत्रकोट, गुल्मी दरबार गाउँपालिकाको पानीको मूलस्रोत यही रेसुङ्गा वन रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया