(Friday, 24 May, 2019)
By: आजको अर्थ
फागुन ३०, २०७५

गाईघाट –

वारी है, खोला नी हौ पारी है खोला 
बिचैमा दोभान हौ देशै रमाइलो 
हासेर नी हौँ पनि, बोलेर नी हौँ 
बिताउन जोवन, लङ्घा मजुले...

पश्चिम बागलुङ, गुल्मी, प्युठान, सल्यान, लमजुङ क्षेत्रमा बसोबास गर्ने मगर जातिको लोकप्रिय नृत्यका रुपमा कौडा नृत्यलाई लिन सकिन्छ भने पूर्वतिर धनकुट्टा, मोरङ, सङ्खुवासभा क्षेत्रमा बसोबास गर्ने अधिकांश मगर जातिमा लोकप्रिय नृत्यको रुपमा हुर्रा नाच महत्वपूर्ण संस्कृतिको रुपमा रहँदै आएको छ । 

मुख्य गरेर धनकुट्टा तथा मोरङको ज्यामिरे, बुधबारे, केराबारी तथा पथरी, लेटाङ क्षेत्रका मगरमा लोकप्रिय रहेको हुर्रा नृत्य पन्ध्र वर्षदेखि उदयपुरमा पनि भित्रिन पुगेपछि यतिखेर उदयपुरका मगरजातीहरु हुर्रा नाचको संरक्षण तथा प्रचारप्रसारको अभियानमा जुटेको जिल्लाका मगरयुवाहरु बताउँछन् । 

जिल्ला मगर सङ्घ उदयपुरका अध्यक्ष भक्तबहादुर बुर्जामगरका अनुसार २०६० सालमा पहिलो पटक उदयपुरमा पूर्वेली मगरमाझ लोकप्रिय रहेको हुर्रानाच उदयपुरको मुर्कचीमा भित्रिएपछि त्यहाँ पनि यो लोकप्रिय बन्दै गएको हो । 

अहिले हुर्रा नृत्य उदयपुरको मुर्कची, जिल्लाको सदरमुकाम गाईघाट, साउने, खाँबु, बासबोटे, कटारी, सिद्धिपुर, पाँबु, नामेटार, रामेटार, रौता मलबासे क्षेत्रमा व्यापक लोकप्रिय बन्दै गएपछि मगरका विभिन्न सङ्घसंस्था तथा युवा यसको संरक्षण अभियानमा लागेको कुरा जिल्ला मगर सङ्घका प्रतिनिधि बताउँछन् । 

जिल्ला मगर सांस्कृतिक सङ्घ उदयपुरका अध्यक्ष दलबहादुर मगरका अनुसार हुर्रा नाच पूर्वेली मगरको पहिचना भएका कारण उदयपुरमा पनि यसको संरक्षण अभियानमा आफूहरु जुटेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “नेपालका पस्श्चिमे मगरहरु कौडा नृत्यले चिनिन्छन् भने पूर्बेली मगर हुर्रानाच र सोरठी नाचले चिनिन्छन्, यसमा पनि हुर्रानाच पन्ध्र वर्ष अगाडिमात्र उदयपुरमा भित्रिएकाले यसको संरक्षणमा सङ्घ अहिले लागिपरेको छ ।” 

मगर समुदायका बाहुल्य रहेका उदयपुरका विभिन्न स्थानीय तहमा सङ्घले हुर्रानाच संरक्षण र प्रचारप्रसार अभियानलाई तीव्रता दिदैँ आएको अध्यक्ष मगरले बताउनुभयो । विशेषगरी माघेसङ्क्रान्ति पर्वलगायत विवाह, मगरजातिका धार्मिक तथा सांस्कृतिक कार्य, पास्नी, छेवर व्रतबन्धआदिमा हुर्रानृत्य प्रदर्शन गर्ने गर्छन् । 

नेपाल आदिवासी तथा जनजाति महासङ्घ उदयपुरका अध्यक्ष तथा विज्ञ केशव खपाङ्गी मगरका अनुसार हुर्रानाच पूर्वको धनकुटा मुढेवासबाट उत्पति भई प्रचलनमा आएको छ । विसं १८३० दशकतिर पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा गोर्खाली मगर फौज प्रयोग गरेर पूर्वी क्षेत्र एकीकरण गरेपछि धनकुटाको मुढेवासमा मगरफौजलाई बसोबास गराएका थिए । त्यसैवेला देखि हुर्रानाचको शुरुवात भएको अध्यक्ष मगरले बताउनुभयो । मगर भाषामा हुर्र भनेको कोदाली भएका कारण दिनभर मुढेवासका मगरले कोदाली खन्ने र खेतीपाती गर्ने तथा बेलुकी गलेपछि कोदाली बिसाएर हुर्रानाच गर्ने वा कोदाली बिसाएर गीत गाउने र नृत्य गर्ने प्रचलनको शुरु भएपछि पूर्वको धनकुटास्थित मुढेवासबाट पहिलो पटक हुर्रानाचको प्रारम्भ भएको उहाँले बताउनुभयो । 

त्यसपछि धनुकेटेली मगर मोरङको केराबारी, भलुवा, पथरीतिर बसाइँ सर्ने क्रमसँगै हुर्रानाच अहिले मोरङ क्षेत्रमा पनि यो नृत्य विस्तार भएको छ । विसं २०६० मा पहिलोपटक जिल्ला मगरसङ्घ उदयपुरको आयोजनामा माघेसङ्क्रान्तिमा उदयपुर जिल्लाको रौताको मुर्कचीमा यो हुर्रा नाचको आयोजना गरिएको जिल्ला मगर सङ्घका जिल्ला सदस्य ईश्वर रानामगरले बताउनुहुन्छ । 

त्यसपछि जिल्ला मगर सङ्घको नेतृत्व र अगुवाइमा नै प्रत्येक वर्षको माघेसङ्क्रान्तिसहित विभिन्न मगर जातिको सांस्कृतिक पर्व, धार्मिक पर्वसहित विवाह पास्नी छेवरमा समेत अहिले हुर्रानृत्य आयोजना गरिने गरेको रानामगरले बताउनुभयो । 

मुख्य गरेर मगर युवा तथा युवतीले आ–आफ्नो वेषभूषा र जातीय पहिरनमा रहेर मादल, झ्यालीसहित बाध्य बादनमा सामूहिक नृत्य गरिने नृत्य नै हुर्रानृत्यको रुपमा रहेको रौतामुर्कुची उच्चमाविका प्राचार्य खड्ग थापामगरले बताउनुभयो । 

हुर्रा नाचमा मगर युवा तथा युवतीबीच संयोगान्त वा वियोगान्त रसमा आधारित मायापिरतीका कुरा जोडेर गीत बनाई सामूहिक रुपमा यो नृत्य गर्ने गरिएको तथा यो नृत्य आधा घण्टा एक घण्टा हुँदै दिनभर वा रातभरसमेत लामो समयसम्म नृत्य गर्न सकिने प्राचार्य थापामगर बताउनुहुन्छ । 

यस्ता भाकाले आफ्नो देश रमाइलो भएको र मगर भाषामा लङ्घामजुले भनेको आफ्नै गाउँ रमाइलो हुन्छ भनेर गाउँघर रमाइलो भन्दै गीत गाएर सामूहिक नृत्य गरिने नृत्य नै हुर्रा नृत्य भएका प्राचार्य खड्ग थापामगर बताउनुहुन्छ । 

जिल्ला मगर संस्कृतिक सङ्घले अहिले उदयपुर जिल्लाका मगर जातिमा हुर्रानृत्य संरक्षण र प्रचारप्रसार अभियानमा जोड दिन थालेपछि यो नृत्य सामान्य विवाह, व्रतबन्ध, पास्नीदेखि माघेसङ्क्रान्ति तथा विभिन्न दशैँ, तिहारजस्ता धार्मिक पर्वमा समेत हुर्रानृत्य प्रस्तुत र आयोजना हुने गरेको मगर सङ्घका प्रतिनिधि बताउँछन् । 



तपाईको प्रतिक्रिया

यसमा तपाइको मत