कर्मचारीहरुलाई मन्त्री यादव निर्देशन : निरन्तर बजार अनुगमन गर्नुस्

५ बर्ष अगाडि

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निरन्तर बजार अनुमगन गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । 

विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोजना गरेको कार्यक्रममा उहाँले चाडबाड र केही भनसुनका आधारमा मात्रै बजार अनुगमन नगरी सबै महीना निरन्तर रुपमा बजार अनुगमन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको हो । 

मन्त्री यादवले भन्नुभयो, “पछिल्लो समय शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै नै बेथिति देखिएकाले यसको पनि नियमित अनुगमन गर्नुस्, आवश्यक परे मन्त्रालय सहयोग गर्न तयार छ ।” 

रकमको हिसाबले धेरै थोरै जे भए पनि उपभोक्तालाई ठगी गर्नेहरु सबैभन्दा ठूलो भ्रष्टाचारी भएको उल्लेख गर्दै उहाँले त्यस्ता व्यक्ति र निकायलाई कानूनी कारवाहीको दायरामा ल्याउन सबैको साथ र सहयोगको आवश्यकता छ भन्नुभयो । 

मन्त्री यादवले सरकारले विगतको एक वर्ष काम गर्ने खाका तयार गरेको भन्दै आगामी चार वर्ष जनताको चाहनाअनुरुप काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

विभागका महानिर्देशक योगेन्द्र गौचनले गत कात्तिकदेखि नयाँ ऐन कार्यान्वयनका आएपछि अनुगमन अधिकृतहरुलाई बजार अनुगमन गर्न सहज भएको बताउनुभयो । 

नयाँ ऐनअनुसार अनुगमन अधिकृतले गलत साबित गरे आवश्यकतानुसार रु पाँच हजारदेखि तीन लाखसम्म अनुगमनस्थलमा नै रकम असुल गर्न पाउने व्यवस्था छ । 

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले सबै स्थानीय तहमा उपभोक्ता सचेतना केन्द्र स्थापना हुनुपर्नेमा जोड दिनुभयो । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आवकोे हालसम्ममा १०५ व्यवसायको अनुगमन गरी कारवाही स्वरूप रु २५ लाख असुल गरेको छ । 

यसअघि उपभोक्ता अधिकारसम्बन्धी विभिन्न नारा लेखिएका ब्यानर र प्लेकार्डसहित ¥याली निकालिएको थियो । 

सन् १९८३ देखि मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवसका रूपमा मनाउन थालिएको हो । हरेक वर्ष मनाइँदै आएको विश्व उपभोक्ता अधिकार दिवस यस वर्ष पनि ‘गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार ः हामी सबैको सरोकार भन्ने’ मूल नाराका साथ मनाउने तयारी विभागले गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया