के तपाई छिटोछिटो खाना खानुहुन्छ ? होसियार! यति ठुला रोग लाग्न सक्छ

५ बर्ष अगाडि


छिटोछिटो खाना खाने मानिस भुँडे हुने र उसमा मुटुको रोग विकास हुने जोखिम पनि बढ्ने पाइएको छ । यति मात्र होइन मधुमेह र मस्तिष्कघातको खतरा पनि उनीहरूलाई बढी हुन्छ । अमेरिकन हार्ट एसोसिएसनको हालै सम्पन्न साइन्टिफिक सेसनमा प्रस्तुत गरिएको नयाँ अनुसन्धानको विवरणमा भनिएको छ– फटाफट खाना खाने गरेमा मुटु, रक्तसञ्चार र पेटमा गम्भीर प्रभाव पर्न सक्छ ।

जापानको हिरोसिमा विश्वविद्यालयका हृदयरोग विशेषज्ञ डा. ताकायुकी यामाजीको नेतृत्वमा भएको अनुसन्धानमा पाँच वर्षसम्म हजार जना सहभागीको खाना खाने बानी र स्वास्थ्यमा त्यसको प्रभाव हेरिएको थियो ।

खाना खाने गति र मेटाबोलिक सिन्ड्रोम बीचको सम्बन्धमा अनुसन्धान टोली केन्द्रित थियो । हृदयरोग, मधुमेह र मस्तिष्कघातका जिम्मेवार मुख्य पाँच जोखिम पक्षसँग सम्बन्धित मेटाबोलिक सिन्ड्रोमलाई यामाजीको टोलीले विशेष रूपमा हे¥यो ।

ती जोखिम पक्ष थिए उच्च रक्तचाप, उच्च ट्रिग्लेसेराइड, रगतमा चिनीको उच्च मात्रा, राम्रो कोलेस्टेरोलको न्यून मात्रा र फुलेको कम्मर । यामाजीको टोलीले अनुसन्धानका लागि छानेका एक हजार ८३ जनामा ६४२ पुरुष थिए । सहभागीको औसत उमेर ५१ वर्ष थियो । सन् २००८ मा अनुसन्धान सुरु गरिँदा ती मानिसमा मेटाबोलिक सिन्ड्रोम थिएन । पाँच वर्षसम्म तिनको अनुगमन गरियो ।

पाँच वर्ष अनुगमन गर्दा ८४ जनामा मेटाबोलिक सिन्ड्रोम देखियो । समग्रमा छिटोछिटो खाना खाने मानिसको पेट लाग्ने, रगतमा ग्लुकोजको मात्रा बढ्ने, हानिकारक कोलेस्टेरोल बढ्ने र तौल बढ्ने पाइयो । यस आधारमा अनुसन्धान टोलीले भनेको छ छिटोछिटो खाना खाने मानिसमा मेटाबोलिक सिन्ड्रोम विकास हुने जोखिम तुलनात्मक रूपमा दोब्बर हुन्छ । एजेन्सी

५ बर्ष अगाडि

प्रतिक्रिया