ला लिगा : बार्सिलोना आज रियल बेटिससँग भिड्दै, बदला लिने दाउमा बार्सिलोना !

५ बर्ष अगाडि

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा आज लिग लिडर बार्सिलोना लिगको २८औं साताको खेल खेल्दैछ । युरोपियन च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ मा स्थान बनाएपछि बार्सिलोनाले पहिलो खेल घरेलु लिगमा रियल बेटिसविरुद्ध खेल्न लागेको हो ।

यो खेलका लागि बार्सिलोना आज लिगको आठौं स्थानको टोली रियल बेटिसको घरेलु मैदानमा उत्रिँदैछ । खेल नेपाली समयअनुसार आज राति १ः३० बजेबाट सुरु हुँदैछ ।

बेटिस त्यही टिम हो, जसले सिजनको पहिलो भेटमा गत नोभेम्बर ११ मा बार्सिलोनालाई उसकै घरेलु मैदानमा नमिठो हार चखाएको थियो । क्याम्प नोउमा भएको सो खेल बेटिसले ३–४ ले जितेको थियो ।

तसर्थ, आज अवे मैदानमा उत्रिँदा बार्सिलोना ३ अंकका लागि मात्रै खेल्दैन, अघिल्लो भेटमा आफ्नो घरमा व्यहोरेको नमिठो हारको बदला बेटिसलाई उसकै घरमा हराएर लिन पनि चाहन्छ ।

बार्सिलोना हाल लिगका २७ खेल सकिँदा ६३ अंक बनाएर शीर्ष स्थानमा बसेको छ । ऊ हाल एक खेल बढी खेलेको दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा ७ अंकले अघि छ । यदि आज बार्सिलोनाले आफ्नो खेल जिते उसले एथ्लेटिकोसँग १० अंकको स्पष्ट अग्रता बनाउनेछ ।

यता, बार्सिलोनासँग अहिले तेस्रो स्थानको रियल मड्रिडसँग ९ अंकको अग्रता छ । आज बार्सिलोना विजयी भए रियलसँग उसको अग्रता पनि १२ मा पुुग्नेछ ।

बार्सिलोनाले लिगाका पछिल्ला ५ खेलमा ४ खेल जितेर एक खेल भने बराबरी गरेको छ ।

यता, आज बार्सिलोनालाई आफ्नो घरमा भित्र्याउन लागेको बेटिस भने समान २७ खेलपछि ३९ अंक बनाएर लिगको आठौं स्थानमा छ । आज उसले आफ्नो घरमा बार्सिलोनालाई हराउन सके अंक तालिकामा सुधार गर्नेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया