जनताको जलविद्युत अब कुन कुन आयोजनाको आउँदैछ शेयर

५ बर्ष अगाडि

काठमाडौं – सरकारले घोषणा गरेको जनताको जलविद्युत् कार्यक्रमका लागि दोस्रो चरणमा तामाकोशी पाँचौ र भेरी बबई डाइभर्सन आयोजनालाई राखेको छ ।

नेपाल विद्युत् प्राधिकरणले सहायक कम्पनी स्थापना गरी दोलखामा करिब १०० मेगावाट क्षमताको तामाकोशी पाँर्चौ आयोजना निर्माण सुरु गर्न लागेको छ ।

सो आयोजनामा जनताको लगानी कार्यक्रम मार्फत रकम जुटाउने सरकारको योजना रहेको छ । हाल निर्माणको क्रममा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् गृहबाट निस्केको पानीलाई नै प्रयोग गरेर १०० मेगावाट विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको छ ।

यही चैत ७ गतेदेखि माथिल्लो त्रिशुली थ्री बी जलविद्युत् आयोजनाको अग्रिम सेयर  बिक्री हुने भएको छ । सो आयोजनाको सेयर बिक्री लगत्तै तामाकोशी पाँचौंको सेयर बिक्री सुरु हुनेछ ।

यस्तै तेस्रो आयोजनाको रुपमा भेरीब बई डाइभर्सन आयोजनालाई राखिएको छ । सुरुङ निर्माण कार्य अन्तिम चरणमा पुगेको सो आयोजना निर्माणाक लागि छुट्टै कम्पनी स्थापना गर्ने अन्तिम तयारीमा पुगेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

आयोजनामा कर्णाली सरकारले समेत लगानी गर्ने भएको छ । संघीय सरकार, कर्णाली सरकार र नेपाली नागरिक र स्थानीय नागरिकले समेत आयोजनामा सेयर लगानी गर्नेछन् । कूल ४८ मेगावाट क्षमताको सो आयोजनालाई आर्कषक आयोजनाको रुपमा लिइन्छ ।

भेरी नदीको पानीलाई बबई नदीमा खसाएर विद्युत र सिँचाइ दुवै गर्ने लक्ष्य राखिएको छ । आवश्यक प्रक्रिया सुरु भइसकेको जानकारी दिँदै ऊर्जा मन्त्री बर्षमान पुनले केही समय भित्रै कम्पनी स्थापना हुने र आवश्यक काम समेत सुरु हुने जानकारी दिएका छन् ।

सरकारले जनताको जलविद्युत् कार्यक्रम मार्फत कूल १९ आयोजनाबाट ३ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । ती आयोजनाबाट के कति मात्रामा सेयर दिने भन्ने बारेमा केही दिन भित्रै निर्णय गरिने मन्त्रालयको भनाइ छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया