'मेस्सी चम्किएपछि' रियल बेटिसमाथि बार्सिलोनाको शानदार जित (भिडियोसहित)

५ बर्ष अगाडि


फरवार्ड लिओनल मेस्सी चम्किएपछि स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले सहज जित निकालेको छ । नेपाली समयअनुसार सोमबार बिहान भएको लिगको २८औं साताको खेलमा बार्सिलोनाले आठौं स्थानको रियल बेटिसलाई उसकै घरमा १–४ ले हरायो ।

बार्सिलोनालाई अवे मैदानमा शानदार जित दिलाउन कप्तान मेस्सीले ह्याट्रिक गरे भने स्वारेजले १ गोल र अर्को गोलका लागि असिस्ट गरे । पराजित बेटिसका लागि लोरेन मोरनोले १ गोल गरे ।

बार्सिलोनाका लागि खेलको १८औं मिनेटमा कप्तान मेस्सीले फ्रि किकमा दर्शनीय गोल गरेर घरेलु टोलीविरुद्ध अग्रता दिलाएका थिए । करिब २० मिटर दूरीबाट उनले पोस्टको तल्लो बार च्याप्दै हानेको फ्रि किक प्रहारले सोझै जाली चुमेको थियो ।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा मेस्सीले अर्को गोल थपे । स्वारेजले बक्सभित्र बेटिसका ३ जना डिफेन्डरलाई छलाउँदै चलाखीपूर्वक दिएको पासमा मेस्सीले सहजै गोल गरेपछि बार्सिलोना पहिलो हाफमा ०–२ ले अघि रह्यो ।

दोस्रो हाफमा पनि पाहुना टोली बार्सिलोनाले २ गोल थप्यो । उसका लागि खेलको ६३औं मिनेटमा स्वारेजले बेटिसका २ जना डिफेन्डरलाई बिट गर्दै गोल गरेका थिए । सो गोलमा जेरार्ड पिकेले असिस्ट गरेका थिए । सो गोलपछि बार्सिलोनाले खेलमा ०–३ को अग्रता लियो ।

त्यसपछि खेलको ८२औं मिनेटमा घरेलु टोली बेटिसका लागि मोरनोले गोल गर्दै खेल १–३ बनाए । तर, खेलको ८५औं मिनेटमा मेस्सीले आफ्नो ह्याट्रिक गोल गरेपछि खेल बार्सिलोनाले १–४ ले जित्यो । मेस्सीले तेस्रो गोल निकै दर्शनीय थियो । उनले सो गोल इभान राकिटिकको पासमा गरेका थिए ।

यो जितसँगै बार्सिलोनाले अन्तर्राष्ट्रिय ब्रेक हुनुअघि लिगका २८ खेलबाट कूल ६६ अंक बनाएको छ । यता, पराजित बेटिस भने समान खेलबाट ३९ अंक बनाउँदै लिगको आठौं स्थानमा यथावत रहेको छ ।

अब बार्सिलोनाले समान खेलबाट दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँग स्पष्ट १० अंकको अग्रता बनाएको छ । त्यसैगरी, उसले तेस्रो स्थानको रियल मड्रिडसँग १२ अंकको अग्रता बनाएको छ ।

 

 

५ बर्ष अगाडि

प्रतिक्रिया