धार्मिक क्रियाकलापहरुको सुरक्षार्थ थप बजेटको व्यवस्था

५ बर्ष अगाडि

क्यानबेरा – अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले सो देशमा धार्मिक सम्प्रदायहरुका आफ्ना संस्कारसम्बन्धी कायक्रमहरुलाई सुरक्षित बनाउन भन्दै थप सुरक्षा व्यवस्थाको घोषणा गर्नुभएको छ । 

उहाँले सो प्रयोजनका लागि सोमबार करिब ३ करोड ९० लाख अमेरिकी डलर बराबरको सुरक्षा खर्चको घोषणा गर्नुभएको जनाइएको छ । 

न्युजिल्याण्डको एक चर्चमा हालैमात्र भएको भीषण आतङ्ककारी हमलापछि अष्ट्रेलियाले विभिन्न धार्मिक सम्प्रदायका क्रियाकलापहरुलाई सुरक्षित बनाउने उद्देश्यले सो कार्यक्रमको घोषणा गरेको जनाइएको छ । 

सोमबार अष्ट्रेलिया इजरायल चेम्बर अफ कमर्सको कार्यक्रमलाई सम्बोधन गर्दै अष्ट्रेलियाली प्रधानमन्त्री मोरिसनले सो विषयमा जानकारी दिनुभएको हो । 

अष्ट्रेलियाली प्रधानमन्त्री मोरिसनले सो सम्बोधनमा भन्नुभएको छ– यहाँका धार्मिक विद्यालयहरु, धार्मिक प्रार्थनास्थलहरु र धर्म सभाहरुमा सुरक्षाका लागि यो अलग्गै बजेटको व्यवस्था गरिएको हो । 

यो रकम यहाँका विभिन्न धार्मिक समूहहरुलाई आफ्नो सुरक्षाको मापदण्ड अपनाउनका लागि प्रदान गरिने जानकारी गराउनुभयो । यसले आतङ्ककारी क्रियाकलापहरु रोक्न र त्यसका विरुद्धमा एकताबद्ध हुन सहयोग पुग्ने धारणा उहाँले राख्नुभयो । 

यो रकमबाट ती क्षेत्रमा खतराको सूचक घण्टी (साइरन) को व्यवस्था गर्ने, शिशी क्यामेराहरु राख्ने, सुरक्षाकर्मीहरुको व्यवस्था गर्ने र सुरक्षाका अन्य मापदण्डहरु अपनाउने प्रयोजनका कार्यहरु गरिने बताइएको छ । 

हाम्रो सरकारको पहिलो उद्देश्य भनेको हरेक अष्ट्रेलियाली नागरिकलाई सुरक्षित राख्नु हो भन्दै यसबाट उनीहरुको सुरक्षाका लागि सहयोग पुग्ने धारणा अष्ट्रेलियाली प्रधानमन्त्री मोरिसनले राख्नुभयो । 

गत शुक्रबार मात्र न्युजिल्याण्डमा भएको सो आतंककारी हमलाबाट ५० जना मानिसको ज्यान गएको थियो । उनीहरु चर्चमा प्रार्थनाका लागि जम्मा भएका नागरिक थिए । 

सो आक्रमण भीषण रहेको थियो । त्यस आक्रमणमा थप ५० जना घाइते भएका थिए । सो आक्रमणपछि न्युजिल्याण्डमा पनि चर्च लगायतका विभिन्न धार्मिक समूहको सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

अष्ट्रेलियाली प्रधानमन्त्री मोरिसनले उक्त आक्रमणलाई अतिवादीहरुको घृणित कार्य भनी प्रतिक्रिया दिनुभएको छ । 
नागरिकले आफ्ना विचारहरुको अभिव्यक्ति मतदानबाट या शान्तिपूर्ण भनाईबाट राख्नसक्ने अवस्था हुदाहुदै यस्ता आतङ्ककारी हमला गरी नागरिकको ज्यान लिनु जघन्य अपराध भएको प्रतिक्रिया उहाँले दिनुभएको थियो । 
न्युजिल्याण्डको आक्रमणमा संलग्नको पहिचान भइसकेको प्रहरीले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया