विद्युत् खरिद सम्झौता नै नगरी शिलान्याशको हल्ला, भारतीय बैंकले दिने भयो अरुण तेस्रोलाई  ८० अर्ब ऋण

५ बर्ष अगाडि

काठमाडौं । तयारी नै नगरी शिलान्याशको हल्ला गरिएको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणका लागि भारतको स्टेट बैंक अफ इन्डियाले ८० अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ ।

भारतीय सञ्चार माध्यमहरुकाअनुसार आयोजना निर्माण प्रक्रियालाई गति दिन उक्त परिमाणको रकम उपलब्ध गराउन लागिएको हो ।

अरुण तेस्रो जलविद्युत् आयोजना भारतको सरकार िकम्पनी सतजल विद्युत् निगमले निर्माण गर्न लागेको आयोजना हो ।

आयोजना निर्माणका लागि सतजल विद्युत् निगमले नेपालमा एसजेभीएन पावर लिमिटेड नामक कम्पनी दर्ता गरेको छ ।

कूल ९०० मेगावाट क्षमताको सो आयोजना प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा उनका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितीमा संयुक्त रुपमा शिलान्याश गर्ने भन्दै हल्ला गरिएको थियो ।

तर पछि तयारी पूरा नभएको भन्दै शिलान्याश कार्यक्रम तत्कालका लागि स्थगित समेत भएको थियो ।

पछिल्लो तयारीअनुसार सो आयोजनाको शिलान्याश भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको क्रममा गर्र्ने तयारी गरिएको छ ।

निटक भविस्यमा नै मोदी नेपाल भ्रमणमा आउने नेपालका प्रधानमन्त्री ओलीसँगको भेटमा प्रतिवद्धता जनाएका छन् ।

जनकपुरको राम जानकी मन्दिर र मुस्ताङको भ्रमण समेत गर्ने गरी मोदी नेपाल आउन लागेको बताइएको छ ।

शिलान्याश नहुनाका अर्को कारण पनि रहेको छ । सो आयोजनाबाट उत्पादित विद्युत्को विद्युत् खरिद सम्झौता समेत हालसम्म हुन सकेको छैन ।

भारत निर्यात गर्ने गरी निर्माण हुन लागेको सो आयोजनाको विद्युत् खरिद सम्झौताको अन्तिम तयारी भइसकेको छ ।

विद्युत् खरिद सम्झौता नभई कुनै पनि बैंक तथा वित्तीय संस्थाले ऋण लगानी नगर्ने भएकाले सम्झौतालाई जोड दिइएको सतजलका प्रमुखले  प्रधानमन्त्री ओलीसँगको भेटमा बताएका थिए ।

आयोजना र बैंकबीच अनौपचारिक सम्झौता भएको भारतीय अधिकारीले दावी गरेको छ । अनौपचारिक सम्झौता छिट्टै औपचारिकमा रूपान्तरण गर्ने तयारी गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

शिलान्याशको हल्ला चलाएर ऋण सम्झौताको तयारी गरिएको रहेछ, तयारी नै पूरा नभई कसरी शिलान्याश गर्ने भनेर तत्कालका लागि उक्त कार्यक्रम स्थगित भएको हो, सतजलसँग स्म्वद्ध एक प्रमुखले भने, अब ऋण सम्झौता र विद्युत् खरिद सम्झौता सँग सँगै गरिनेछ ।

स्टेट  बैंकको निर्देशक समितिको बैठकले आयोजनामा ऋण दिनेबारे पस्ताव गरेको छ, यसबारे छिट्टै पूर्ण निर्णय हुने जनाइएको छ ।

आयोजनाले नेपाली बैंबाट पनि करिब ५ अर्ब रकम ऋण लिने तयारी गरेको छ ।

 पञ्जाब नेशनल बैंकले नेपालको एभरेष्ट बैंकमार्फत २६८ किलोमिटर ४ सय केभी प्रसारण लाइन निर्माण गर्न ऋण लिने सहमति गरिएको छ ।

आयोजनामा पञ्जाब बैंकले पनि ८ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएको छ ।

आयोजनाको वित्तीय व्यवस्थापन हुनासाथ नेपालले विद्युत उत्पादन अनुमतिपत्र जारी गर्ने तयारी गरेको छ ।

भारतको मन्त्रिपरिषदले यसअघि नै आयोजनामा ९१ अर्ब रुपैयाँ लगानी गर्न स्वीकृत गरिसकेको छ ।

आयोजनाको बाँध र डाइभर्सन सुरुङ निर्माण गर्न जयप्रकाश एसोसियट्स लिमिटेडसँग सम्झौता भएको छ । करिब १८ अर्ब रुपैयाँमा यसको सम्झौता भएको छ ।

यस्तै, दोस्रो प्याकेजमा ८ किलोमिटर सुरुङ र विद्युतगृह निर्माण गर्न पटेल इन्जिनियरिङ कम्पनीसँग १८ अर्ब रुपैयाँमा सम्झौता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आयोजनाबाट सन् २०२२ को सेप्टेम्बरसम्म विद्युत उत्पादन हुने छ । आयोजना निर्माणपछि नेपालले हरेक वर्ष २१.९ प्रतिशत अर्थात १९७ मेगावाट विद्युत निशुल्क पाउने परियोजना विकास सम्झौतामा उल्लेख छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया