होली मनाउने क्रममा दुई जनाको मृत्यु

५ बर्ष अगाडि

रुपन्देही-होली मनाउने क्रममा रुपन्देहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा आज दुई जनाको मृत्यु भएको छ । कञ्चन गाउँपालिका–१ लौघामा होली मनाएर फर्कंदै गर्दा तीव्रगतिमा चलाएको मोटरसाइकल पल्टिँदा एक जना युवकको मृत्यु भएको हो । 

दुर्घटनामा सैनामैना नगरपालिका वडा नं ८ बस्ने २६ वर्षीय दिलीप थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । लु २५ प ६८०९ नंको मोटरसाइकलमा सवार थापाले तीव्रगतिमा मोटरसाइकल चलाउँदा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख हृदय थापाले जानकारी दिए । 

यस्तै भैरहवाको वसन्तपुरमा दुई मोटरसाइकल एकआसपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । परासीबाट भैरहवा आउँदै गरेको लु ३४ प ३४३५ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको लु ३२ प ४२४४ नंको मोटरसाइकल वसन्तपुरमा ठक्कर खाँदा एक अन्दाजी २५ वर्षीय युवकको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका लु ३२ प ४२४४ नंको मोटरसाइकल चालकको भैरहवा भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान भएको छैन । 

यसैबीच होली खेल्ने क्रममा जबर्जस्ती गर्ने ४९ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया