के नेपालमा स्थापना होला रासायनिक मल कारखाना ? यस्तो छ सरकारको तयारी

५ बर्ष अगाडि

काठमाडौं – सरकारले नेपालमै रासायनिक मल उत्पादनका लागि कारखाना स्थापनाको तयारी थालेको छ । मल कारखाना स्थापना गर्न ठूलो लगानी आवश्यक भएपछि सरकारले आसन्न लगानी सम्मेलनमा विदेशी लगानीकर्तामाझ योजना प्रस्तुत गर्ने तयारी गरेको छ । कारखाना स्थापनाका लागि विदेशी लगानीकर्तालाई आग्रह गर्ने तयारी लगानी बोर्डको छ ।

सरकारले कृषिअन्तर्गत विदेशी लगानी भित्र्याउन मल कारखानालाई पहिलो प्राथमिकतामा राखेको लगानी बोर्डले जनाएको छ ।  प्रदेश २ अन्तर्गत धनुषाको ढल्केवर र प्रदेश ४ मा नवलपुरको बर्दघाटमध्ये एक स्थानमा मल कारखाना स्थापनाको तयारी गरिएको हो ।

निर्माण अवधिको ब्याजसहित मल कारखाना स्थापनाका लागि झन्डै ७० अर्ब रुपैयाँ अनुमान छ । प्राकृतिक ग्यासमा आधारित प्रविधिबाट रासायनिक मल उत्पादन हुने बोर्डले जानकारी दिएको छ । यसका लागि ११५ मेगावाट बिजुली र प्रतिदिन १ हजार १९७ टन प्राकृतिक ग्यास आवश्यक पर्ने बोर्डले गरेको अध्ययनले देखाएको छ । कारखाना स्थापनाका लागि ४ हजार हेक्टर क्षेत्रफल जग्गा आवश्यक पर्ने छ ।

प्रारम्भिक काम छ महिना, एक वर्ष लगानी जुटाउन, तीन वर्षमा कारखानाको निर्माण र २० देखि २५ वर्षसम्म अनुमतिपत्र को व्यवस्था हुने छ । नेपालमा वार्षिक ७ लाख मेट्रिक टन रासायनिक मलको माग छ । यहाँ रासायनिक मल कारखाना नहुँदा मागअनुसार विदेशबाट नै आयात गर्नुपर्छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया