बाहिरी चक्रपथ भूमाफिया मालामाल, सरकारी योजना कागजमा सिमित

५ बर्ष अगाडि

काठमाडौँ – बाहिरी चक्रपथको नाममा भूमाफियाले हुने नहुने सबै खालको चलखेल गरेका कारण आयोजनाको भविस्य नै अन्यौलमा परेको छ ।  राजधानीको बसोबासलाई व्यवस्थित बनाउन अघि बढाइएको भनिएको  वाहिरी चक्रपथ आयोजना नबन्ने करिब करिब टुंगो लागेको छ । वाहिरी चक्रपथ बन्ने स्थानको जग्गा ससाना टुक्रामा बिक्री भएकाले आयोजनानै अनिश्चित बनेको सम्वद्ध निकायले समेत स्वीकार गरेको छ । 

 आयोजनाको साढे ६ किलोमिटरभित्र २ हजार ९ सय कित्ता जग्गा खण्डीकरण भएको पाइएको छ । भूमाफियाले तीन आनाभन्दा कममा पनि जग्गा टुक्रा पारेर बिक्री गरेको पाइएको छ ।  करिब २० वर्षअघि व्यवस्थित शहरको सोचसहित अघि बढाउन खोजिएको आयोजनालाई भूमाफियाले जग्गाको भाउ बढाउन मात्रै उपयोग गर्दा यस्तो समस्या देखिएको हो । तत्कालीन प्रधानमन्त्री प्रचण्ड सरकारका पालामा आयोजना अघि बढाउन भन्दै जग्गा बेचविखनमा रोक लगाइएको थियो । तर वेचबिखन रोक्न आवश्यक कानुनी संरचना तयार नपारेकोले जग्गा बेचविखन तीब्र रुपमा गरियो ।   

वाहिरी चक्रपथ आयोजनाको जग्गा अधिग्रहण गरेर आयोजनालाई अघि बढाउने निर्णय भएपनि आयोजनाको  पहिलो खण्डको जग्गा रोक्का गर्ने सूचना प्रकाशन गरिदिन जिल्ला प्रशासन कार्यालयमा प्रस्ताव पठाए पनि सो कार्यान्वयन भएको छैन । 

जिल्ला प्रशासन कार्यालयले ’जग्गा प्राप्ती ऐन २०३४ अनुसार रोक्का गर्ने’ थपेर ल्याएमात्रै रोक्काका लागि सूचना निकाल्न सकिने बताएर भूमाफियाको पक्षमा काम गरेको देखिन्छ । आयोजनाले प्रस्ताव तयार पारेर स्वीकृत गराउँदा जग्गा प्राप्ती ऐन छुटेका कारण जग्गा रोक्काको प्रक्रिया अघि बढ्न नसकेको बताएको छ ।  

आयोजनाभित्र परेका क्षेत्रमा तीन ÷चार आनामा कित्ताकाट भएको भेटिएपछि ल्याण्डपुलिङमार्फत व्यवस्थापन गर्न कठिन हुने निष्कर्ष आएको छ । बाहिरी चक्रपथमा मात्रै हजारौ संख्यामा कित्ताकाट भएको उपत्यका विकास प्राधिकरणले जनाएको छ । आयोजनाको एलाइन्मेन्ट नै परिवर्तन हुने भएकाले सर्वसाधारणको पैसा फस्ने देखिएको छ ।

केही महिना अघि चाइना इन्जिनियरिङ कर्पोरेशनले चक्रपथ आयोजनाको एलाइन्टमेन्ट परिवर्तन गरेर वाहिरी चक्रपथ निर्माणको प्रस्ताव गरेको थियो । तर सो प्रस्तावलाई अर्थ मन्त्रालयले अस्वीकार गरेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया