विप्लव गिरफ्तार भए के हुन्छ ?

५ बर्ष अगाडि

काठमाडौँ – सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई प्रतिबन्ध लगाएसँगै उसका नेता कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका छन् । यही फागुन २८ पछिमात्रै विप्लव समूहका पाँच दर्जन बढी नेता–कार्यकर्ता पक्राउ परिसकेका छन् । 

प्रहरीले अरु नेता–कार्यकर्ता पनि पक्राउ गर्ने सरकारी नीतिलाई निरन्तरता दिने जनाइसकेको छ । सरकारको अहिलेसम्मको नीति हेर्दा पनि विप्लवका धेरै नेता कार्यकर्ता नियन्त्रणमा लिएर उसको समूह कमजोर बनाएपछि विप्लव वार्तामा नआइ सुखै पाउदैनन् भन्ने देखिन्छ । त्यसैले सरकारका मन्त्रीहरुले भन्ने गरेका छन् ‘हतियार बुझाएर वार्तामा आए सरकार वार्ता गर्न तयार छ ।’ 

तर सरकारका मन्त्रीहरुले वार्ताका लागि तयार रहेको भन्ने गरेपनि औपचारिक रुपमा सरकारले वार्ताका लागि कुनै लिखित आह्वान अहिलेसम्म गरिसकेको छैन । 
यसअघि सरकारले आफूमाथि दमन गरे प्रतिवाद गर्ने जवाफ दिएपनि विप्लव समूहले आफ्ना नेता–कार्यकर्ता गिरफ्तारीबाट बचाउन सकेको छैन । पछिल्लो समय शनिबार मात्रै पनि विप्लवका तेस्रो वरियताका नेता हेमन्त प्रकाश वली समेत प्रहरीद्वारा पक्राउ परेका छन् । 

सुरक्षा स्रोतले विप्लवसहितका शीर्ष नेताहरुमाथि उच्च निगरानी गरिरहेको बताइरहँदा स्वाभाविक रुपमा प्रश्न सतहमा आएको छ– प्रतिवन्धित नेकपाका महासचिव विप्लव नै पक्राउ परे के होला ? 

राजनीतिक विश्लेषक श्याम श्रेष्ठका अनुसार सरकारले भन्दैमा यति सहजै विप्लव वार्तामा आउने सम्भावना छैन । 

श्रेष्ठ भन्छन्, ‘विप्लव वार्तामा आउने संभावना देख्दिन । किनभने उनको पार्टीको उद्देश्य क्रान्तिकारी छ । तत्काल वार्ताद्वारा त्यो संभव भएको भए हतियार बोकेर हिँड्ने थिएनन् होला । हतियार समात्नेमा गएपछि तत्काल रणनैतिक शक्ति सन्तुलनको स्थितिमा नपुगेसम्म वार्तामा आउने संभावना हुदैँन ।’

विश्लेषक श्रेष्ठको विश्लेषणमा यो समस्या समाधान गर्न सरकार जति ढिला र गल्ती गर्दै जान्छ त्यति नै विप्लव समुह बलियो हुँदै जान्छ । सरकारले जति लोकप्रियता बढाउँदै जान्छ त्यति नै विप्लवको लोकप्रियता पनि घट्दै जान्छ । 

उनका अनुसार वार्ताको विकल्प भने छैन । ‘दमन त्यसको उपाय होइन । तर, सरकार जसरी प्रस्तुत भएको छ त्यसबाट वार्ताको संभावना देखिदैन । प्रतिवन्ध लगाउने अनि वार्ता गर्छु भनेर को आउँछ ? पार्टी प्रतिवन्ध लगाएपछि झन् एग्रेसिप रुपमा जाने संभावना हुन्छ ।’ श्रेष्ठ भन्छन् ‘पार्टी प्रतिवन्ध लगाउनु अघि वार्ताको संभावना थियो ।’ 

विप्लव गिरफ्तार भए भने के हुन्छ ? भन्ने प्रश्नमा विश्लेषक श्रेष्ठ भन्छन्, ‘विप्लव गिरफ्तार भए भने वाँकी नेतृत्व कुन ढंगले चल्छ भन्ने कुरामा आधारित हुन्छ । नेतृत्व एकलमात्रै रह्यो भने पेरुको जस्तो हुने संभावना हुन्छ । गोन्जालोको गिरफ्तारि पछाडि जस्तो भयो त्यस्तै हुने संभावना हुन्छ । होइन बैकल्पिक नेतृत्व पनि बलियो भयो भने यो अगाडि बढ्छ ।’

श्रेष्ठका आुसार वैकल्पिक नेतृत्व कति बलियो छ भन्नेमा भर पर्छ । यो अहिले भन्न सकिने कुरा होइन । तर, विप्लवले तत्काल आफ्ना गतिविधिलाई बढाउने संभावना श्रेष्ठले देखेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया