देवघाट पुगे  प्रचण्ड, भने- म  धर्मविरोधी होइन

६ बर्ष अगाडि

चितवन-  नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले देवघाटलाई अन्तराष्ट्रिय धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने कुरा बताउनु भएको छ ।

चितवनको ग्लेश्वर आश्रमद्धारा आयोजित विराट धनधान्याञ्चल ज्ञान महायज्ञ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देवघाटको ऐतिहासिक महत्वलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्नुपर्नेमा जोड दिनुभएको हो, ‘देवघाटको सम्बन्ध ईतिहास ,पौराणीककाल र परम्परासगँ छ ’ अध्यक्ष प्रचण्डले भन्नुभयो, “देशको आर्थिक मरुदण्ड भनेको पर्यटन भएकोले देवघाटलाई अन्तराष्ट्रिय पर्यटकीय केन्द्र बनाउन बामपन्थी सरकारले आवश्यक काम गर्नेछ । ’

नेपाल, भारतलगायतका दक्षिण एशियाका देशहरुबाट यसक्षेत्रमा ठूलो संख्यामा तीर्थालुहरु आइरहेको सन्दर्भ जोडनु हुँदै अध्यक्ष प्रचण्डले नयाँ सरकारले देवघाट क्षेत्रलाई अन्तराष्ट्रिय स्तरको पर्यटकीय केन्द्रका रुपमा निर्माण गर्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले देवघाटलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी अन्तराष्ट्रिय पर्यटक भित्र्याउनुपर्ने र देवघाटसगँ जोडिएका चितवन र नवलपुरलाई समेत यसले आर्थिक टेवा पुग्ने विचार व्यक्त गर्नुभयो ।

चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य समेत रहनुभएको अध्यक्ष प्रचण्डले आफूले देवघाट क्षेत्रको विकासका लागि भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “म चितवनको जनप्रनिधि भएकाले देवघाट क्षेत्रको विकास र समृद्धिको निम्ति भूमिका निर्वाह गर्नेछु । यहाँको समस्या समधान गर्न सरकारसगँ समेत छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

उक्त अवसरमा अध्यक्ष प्रचण्डले समाजमा नैतिक मूल्यको स्थापनामा जोड दिनुपर्ने समेत बताउनु भयो । “चिन्तन र विर्मशले समाजमा एउटा नैतिक मुल्य स्थापित गर्न सक्छ” अध्यक्ष प्रचण्डले भन्नुभयो, “समाजमा देखिने र विकास हुने कतिपय विकृति र विमर्शलाई चिन्तन र विमर्शबाट अन्त्य गर्न सकिन्छ ।

जनताको धार्मिक आस्थालाई सम्मान गर्ने 
अध्यक्ष प्रचण्डले जनताको धार्मिक आस्था र स्वतन्त्रतालाई सम्मान गरेको बताउँद धर्मविरोधी भनेर निरपेक्षरुपमा भ्रमपूर्ण प्रचार गरिएकोमा दुख व्यक्त गर्नुभयो । “हामीले सबैखाले धार्मिक आस्थाको सम्मान गर्छौं ।” प्रचण्डले भन्नुभयो, “राज्यले कुनै धर्मलाई काखा र कुनै धर्मलाई पाखा गर्न हुँदैन भन्नेमात्र हो । नेपालमा धार्मिक, साँस्कृतिक, जातीय र परम्परागत विविधता छ । विविधतामा एकता नै नेपालको पहिचान हो ।”

भूमिगतकालमा देवघाट आएको चर्चा
उक्त अवसरमा अध्यक्ष प्रचण्डले देवघाटधाममा आफ्नी फुपु र सासु बस्दै आउनु भएको बताउँदै विगतमा भूमिगत रहँदा श्रीमतीसहित थुप्रै पटक देवघाट आएको खुलासा गर्नुभयो । “म धेरै पटक देवघाट आएको छु, उहाँले भन्नुभयो, त्यसैले मलाई यहाँ बस्नुुहुने वृद्धवृद्धाको दुःख र समस्या थाहा छ । त्यसलाई निराकरण गर्न मेरो साथ र सहयोग रहनेछ ।”

देवघाटवासीले भोग्नु परेको बाँदर आतंकको बारेमा आफू जानकार रहेको बताउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले देवघाटमा रहेका बाँदरलाई बर्दियाको जंगलमा लगेर छाड्ने हो भने यो समस्याबाट छुटकारा पाइने बताउनु भयो । उहाँले बाँदर व्यवस्थापनको उपाय बाँदर पार्क पनि भएको बताउँदै त्यसका लागि केही वर्ष समय लाग्ने भएकोले बाँदरलाई बर्दिया लगेर छाड्नु नै सजिलो उपाय भएको विचार व्यक्त गर्नुभयो ।

वेद बेदाङ विद्यालयको शिल्यानास
पुर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देवघाटमा निमार्ण हुन लागिरहेको वेद वेदाङग विद्यालयको शिल्यानास गर्नुभएको थियो । ग्लेश्वर आश्रामले १० कठ्ठा क्षेत्रफलमा विद्यालय निमार्ण गर्न लागेको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया