काठमाडौँ - मुकेश अम्बानीलाई पछि पार्दै भारतीय अर्बपति गौतम अडानी भारतको सबैभन्दा धनी व्यक्ति बनेका छन् । अमेरिकी सर्ट सेलिंग फर्म हिन्डनबर्ग रिसर्चले गत वर्ष जनवरीमा अडानी समूहविरुद्ध प्रतिवेदन सार्वजनिक गरेको थियो ।
२४ जनवरी २०२३ मा अमेरिकी फोरेन्सिक फाइनेन्सियल कम्पनी हिन्डनबर्गले अडानीमाथि गरेको अनुसन्धानात्मक रिपोर्टमा अडानी समूहमाथि भ्रष्टाचारको गम्भीर आरोपहरु लगाइएको थियो । सँगै रिपोर्टमा अडानी समूहको सामुन्ने ८८ वटा प्रश्न राखिएको थियो ।
त्यसपछि अडानी समूहको शेयरमा भारी गिरावट आएको थियो । त्यसका बाबजुद पनि पछिल्लो समय अडानीको सम्पत्तिमा भारी वृद्धि भएको देखिन्छ । हुरुन इन्डिया २०२४ धनी व्यक्तिको सूचीअनुसार पछिल्लो एक वर्षमा अडानी परिवारको कुल सम्पत्ति ५,६५,५०३ करोडले बढेको छ । यससँगै अडानी भारत र एशियाका दोस्रो धनी व्यक्ति बनेका छन् । अडानीको पारिवारिक सम्पत्ति ९५ प्रतिशतले बढेर ११.६ लाख करोड रुपैयाँ पुगेको छ ।
उनले अम्बानी परिवारलाई पछाडि छोडेका छन् । पछिल्लो ५ वर्षमा अडानीको कुल सम्पत्ति देशका शीर्ष १० धनी व्यक्तिमध्ये सबैभन्दा बढेको छ । हिन्डनबर्ग रपोर्टका बावजुद, उनको कुल सम्पत्तिमा उल्लेख्य सुधार देखिएको छ । अडानी समूह भारतको तेस्रो ठूलो औद्योगिक घराना हो । उक्त समूहको व्यवसाय एयरपोर्ट, पोर्ट, पावर, एफएमसीजी, रियल्टी, इन्फ्रा, सिमेन्ट र मिडिया लगायत धेरै क्षेत्रमा फैलिएको छ ।
हिन्डनबर्गको आरोपपश्चात् पनि अडानी समूहले छोटो समयमा उल्लेख्य कमाइ गरेको छ । गत वर्षको तुलनामा अडानी समूहको सम्पत्तिमा ९५ प्रतिशतले वृद्धि भएको छ । अडानी परिवारको कुल सम्पत्ति ११,६१,८०० करोड रुपैयाँ पुगेको छ। पछिल्लो एक वर्षमा अडानीको नेटवर्थ बढ्नुको कारण समूहको शेयरमा भएको वृद्धि हो । यस अवधिमा, अडानी पोर्ट्सले सबैभन्दा बढी ९८५ वृद्धि गरेको छ ।
त्यस्तै अडानी इनर्जी, अडानी ग्यास, अडानी ट्रान्समिसन र अडानी पावरको सेयर औसत ७६ प्रतिशतले बढेको छ । लामो समय भारतको सबैभन्दा धनी व्यक्तिका रुपमा रहेका अम्बानी दोस्रो नम्बरमा छन् । उनको कुल सम्पत्ति १०,१४,७०० करोड रहेको छ । उनको सम्पत्तिमा २५ प्रतिशत वृद्धि भएको छ ।
प्रतिक्रिया