माैसम पूर्वानुमान

उपत्यकामा आज आंशिक बदली, देशका केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

विहीबार, ०३ माघ २०८१, ०७ : ३१

काठमाडाैं- जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकामा आज आंशिक बदली रहने अनुमान गरिएको छ। पश्चिमी वायुको प्रभावका कारण देशका केही भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ। सुदूरपश्चिमका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

कर्णाली प्रदेशको हिमाली क्षेत्रमा दिउँसो र राति आंशिकदेखि साधारणतया बदली रही धेरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेशको पहाडी र तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ। गण्डकी प्रदेशको हिमाली क्षेत्रमा पनि आंशिक बदली रही थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

बागमती प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने मधेश प्रदेशमा आज दिउँसो र राति आंशिक बादल मात्रै लाग्ने अनुमान गरिएको छ।

त्यस्तै, कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

काठमाडौं उपत्यकामा दिनभर आंशिक बदली भए पनि उल्लेख्य वर्षाको सम्भावना छैन। चिसोबाट जोगिन र आवश्यक सुरक्षा उपाय अपनाउन मौसमविद्हरुले आग्रह गरेका छन्।

 
विहीबार, ०३ माघ २०८१, ०७ : ३१

प्रतिक्रिया