आफ्नी प्रेमिकालाई समुन्द्रमुनि विवाहको प्रस्ताव गरेपछि...

आइतबार, ०५ असोज २०७६, १४ : १२

आफ्नी प्रेमिकालाई पानीमुनि विवाहको प्रस्ताव राखेका एक अमेरिकी नागरिकको डुबेर मृत्यु भएको छ।

स्टेभन वेबर र उनकी प्रेमिका केनेशा आन्टवान बिदा मनाउन तान्जानियाको पेम्बा टापुनजिकैको मान्टा रिसोर्टको पानीमुनि रहेको कोठामा बसेका थिए ।

भिडिओमा वेबर प्रेमिकालाई विवाहको प्रस्ताव राख्न कोठाबाहिर पानीमा पौडिएको देखिन्छ ।

प्रेमिकाले कोठा भित्रबाट खिचेको भिडियोमा वेबरले झ्यालको सिसामा हस्तलिखित विवाह प्रस्ताव देखाएका छन्।

आन्टवानले फेसबुकमा वेबरको मृत्यु भएको पुष्टि गर्दै लेखेकी छन्, ‘उनी त्यो गहिराइबाट कहिल्यै बाहिर आएनन्।’

मान्टा रिसोर्टले वेबर बिहीवार दिउँसो एकान्तमा रहेको कोठाबाहिर एक्लै पौडिँदा डुबेको जनाएको छ ।

वेबर र आन्टवान जमिनबाट आठ सय २० फिटको दुरीको पानीमा रहेको रिसोर्टको महँगो कोठामा चार दिनका लागि बसेका थिए ।

प्रतिदिनको १७ सय डलर पर्ने सो कोठा पानीको सतहभन्दा ३२ फिटमुनि रहेको छ। कोठामा बसेको तेस्रो दिनमा विवाह प्रस्ताव राख्न बाहिर निस्किएका उनको पानीमै डुबेर मृत्यु भएको हो । उनले झ्यालको सिसामा विवाह प्रस्ताव टाँसेका थिए।

प्रस्तावमा लेखिएको थियो, ‘मलाई तिम्रो के कुरा मन पर्छ भनेर सबै भन्न सास रोक्न सक्दिनँ।’

त्यसपछि भिडियोमा उनले सो कागजको पछाडि लेखिएको विवाह प्रस्ताव देखाएको, अनि खल्तीबाट औँठी निकालेको देखिन्छ। त्यसपछि उनी पानीमा हराउँछन् ।

रिसोर्टले पानीमा केही समस्या परेको थाहा हुने बित्तिकै सहयोग गर्न गएको तर गर्न सकिने केही बाँकी नरहेको बताएको छ।

फेसबुकमा आन्टवानले वेबरले आफ्नो जवाफ सुन्नै नपाएको उल्लेख गरेकी छन् । उनले भनेकी छन्, ‘हाम्रो जीवनको सबैभन्दा रमाइलो दिन नै भाग्यको क्रुरताका कारण सबैभन्दा नरमाइलो दिन बन्यो ।’

आइतबार, ०५ असोज २०७६, १४ : १२

प्रतिक्रिया