कठोर कदम लिएपछि घट्यो गैंडा चोरीशिकारी

सोमबार, ०६ असोज २०७६, १३ : ३५

दक्षिण अफ्रिकाले गैंडाको चोरीशिकारीमा कठोर कदम लिएसँगै गैंडा मारिनेक्रम घटेको दक्षिण अफ्रिकी मन्त्री बारबरा क्रिसीले बताएका छन् ।

वातावरण, वन तथा मत्स्यपालन मन्त्री बारबराले यस वर्ष जनवरीदेखि जुनसम्मका छ महिनाको अवधिमा देशभर करिब ३१८ वटा गैंडाको चोरीशिकारी गरेको जानकारी दिए । अघिल्लो वर्षको यही अवधिमा ३८६ गैंडाको चोरीशिकारी भएको थियो । 

विश्व गैंडा दिवसको सन्दर्भमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री बारबराले उक्त जानकारी दिनुभएको हो । अफ्रिकाको उत्तरमा रहेको क्रुगर राष्ट्रिय निकुञ्जमा चोरीशिकारी बढेको तथ्याँक छ । मन्त्री बारबराका अनुसार यसै वर्षको छ महिनामा यस निकुञ्ज क्षेत्रमा १९० वटा मारिएका छन् ।

अफ्रिकाकै सबैभन्दा ठूलो संरक्षित क्षेत्रका रुपमा रहेको यस निकुञ्जमा यस वर्षको छ महिनामा एक हजार २०२ वटा चोरीशिकारसँग सम्बन्धित घटना भएको पाइएको छ । 

उनले गैंडा जोगाउन दक्षिण अफ्रिकाले एकीकृत रणनीतिक कार्यविधि कार्यान्वयन गरिरहेको र यसको नतिजा निकै सकारात्मक रहेको जानकारी दिए । गैंडाको सिङको माग निकै बढेका कारण अफ्रिकाका सरकारी र निजी निकुञ्जबाट गैंडाको चोरीशिकारी बढेको हो । 

निकुञ्ज आसपासका जनताको जीवनस्तर उकास्ने तथा निकुञ्जको आम्दानीमा उनीहरुको हिस्सेदारी बढाउने उपाय अवलम्बन गरेका कारण पनि गैंडा समेतका जीवजन्तुको चोरीशिकारी रोक्न सफलता मिलेको मन्त्री बारबराले बताए । उनले यो अभियानलाई अझ व्यापक बनाउने अफ्रिकी सरकारको योजना रहेको पनि जानकारी दिए ।

दक्षिण अफ्रिकामा विश्वका कूल गैंडामध्ये झण्डै ८५ प्रतिशत रहेका छन् । 

सोमबार, ०६ असोज २०७६, १३ : ३५

प्रतिक्रिया