चार महिनामै १२ उद्योग कारवाहीमा, उत्पादित सामान किन्दा सचेत रहनुहोला

४ बर्ष अगाडि

आर्थिक बर्ष शुरु भएको चार महिनामा नेपालका १२ उद्योग कारवाहीमा परेका छन् । गुणस्तर तथा नापतौल विभागले उत्पादित बस्तुमा गुणस्तर कायम नगर्ने  र कमसल वस्तुको उत्पादन गर्ने १२ वटा उद्योगहरुलाई कारवाही गरेको हो । 

कारबाहीमा पर्नेहरुमा पाँच सिमेण्ट उद्योग, दुई छड उद्योग र पाँच ग्याँस उद्योग छन् । 
सिमेण्ट उद्योग तर्फ हिमालयज सिमेन्ट, नेपाल अल्टाट्रेक सिमेन्ट, जानकी सिमेन्ट, विशाल सिमेन्ट र अर्घाखाँची सिमेन्ट कारवाहीमा परेको विभागका निर्देशक सञ्जिव कुमार ठाकुरले बताए ।

त्यसैगरी छडतर्फ  प्रिमियम स्टिल,  हुलास वायर्ससँग र ग्याँस उद्योगमा सिद्धार्थ ग्याँस, ओम ग्याँस, नमस्ते ग्याँस, श्रीमाया ग्याँस र नेपाल ग्याँस उद्योग कारवाहीमा परेका छन् ।

 उत्पादन गरी बजारमा पठाईएको वस्तु तथा उद्योगको स्थलगत निरिक्षणका क्रममा फेला परेका नमुनाका आधारमा त्यी उद्योगहरुलाई कारबाही गरिएको ठाकुरले बताए । 
अनुगमनको क्रममा उत्पादित वस्तुमा गुणस्तर कायम नगर्ने  र कमसल वस्तुको उत्पादन गरेको फेला परेपछि सबैलाई स्पष्टिकरण लिई गुणस्तर सुधार्न निर्देशन दिइएको थियो । 
विभागका अनुसार त्यो पहिलो चरणको कार्वाही हो । स्पष्टिकरण र गुणस्तर सुधार नगरेमा विभागले दोश्रो चरणको कारवाही गर्छ । 

चार महिनाको अवधिमा त्यसरी दोश्रो चरणको कारवाहीमा पर्नेहरुमा २ ग्याँस उद्योग छन् । ग्यास सिलिण्डरको सुरक्षात्मक क्षमता, प्रेसर, हाईड्रोस्टाटीक परिक्षण, भण्डारणको अवस्था तथा भल्भको परिक्षण गर्दा गुणस्तर कायम नगरि बिक्री वितरण गरिएकोले ति स्पष्टीकरण सोध्दै गुणस्तर सुधार्न लेखि पठाएको थियो । तर सिद्धार्थ र ओम ग्याँसले स्पष्टिकरण सोध्दा पनि उपयुक्त जवाफ नदिएपछि १० दिनसम्म बन्द गरेको विभागका निर्देशक ठाकुरले बताए । 

नेपाल गुणस्तर प्रमाण चिन्ह (एनएस) प्राप्त उद्योगहरुको अनुगमन गर्दै आएको विभागले चार महिनामा १ सय ५५ भन्दा बढि उद्योगहरुको अनुगमन र ३१ वटा उद्योगमा आकस्मिक निरिक्षण समेत गरेको थियो ।    
हालसम्म ३ सय ५० ओटा उद्योगलले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेका छन् ।  

४२ ओटा एनएस चिन्ह पाएका मध्ये विभागले यो अबधीमा १३ ओटा ग्यास उद्योगमा अनुगमन गरेको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया