नेपालमा कोभिड १९को संक्रमण नभएको प्रधानमन्त्रीको दावी

आइतबार, ०२ चैत्र २०७६, १८ : ५०

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस (कोभिड १९) को कुनै संक्रमण नरहेको बताएका छन् । 

उनले कोरोना भाइरसको संक्रमण हुन नदिनका लागि नेपाल सरकारले पर्याप्त सावधानी अपनाएको पनि जानकारी दिए । 

आइतबार कोरोनाभाइरस विरुद्ध सार्क सहकार्यः भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्री ओलीले रोग भित्रन नदिन सरकारी संयन्त्र ‘अलर्ट’ रहेको जानकारी दिए । 

उनले कुनै पनि विदेशी यात्रुका लागि नेपाल प्रवेशको ‘अन अराइभल भिसा’ रद्द गरिएको, पूर्व प्रवेशाज्ञाका आधारमा नेपाल आउने विदेशी नागरिकले बढीमा सात दिन अघिको मेडिकल रिपोर्ट पेश गर्नुपर्ने र  गैरआवासीय नेपालीका हकमा पनि यही व्यवस्था गरिएको बताए । 

यस्तै उनले सम्पूर्ण स्वदेशी एवं विदेशी नागरिक, गैरआवासीय नेपालीले समेत नेपाल प्रवेश गर्दा १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने अनिवार्य व्यवस्था गरिएको पनि जानकारी दिए । 

उनले स्थानीय, प्रदेश र केन्द्र सरकारले पर्याप्त सावधानी अपनाएको भन्दै सीमा नाकाबाट तेस्रो मुलुकका नागरिकलाई प्रवेश प्रतिवन्ध लगाइएको पनि जानकारी गराए । 

स्वास्थ्यका कर्मचारीलाई सुरक्षित उपकरणको व्यवस्था गरिनुका साथै विमानस्थलमा स्कृनिङका साथै अन्य स्वास्थ्य परीक्षणको व्यवस्था गरेरमात्रै भित्रन दिने व्यवस्था गरिएको प्रधानमन्त्रीले बताए ।

उनले यसवर्षको हिमाल आरोहण रद्द गरिएको पनि बताए ।

आइतबार, ०२ चैत्र २०७६, १८ : ५०

प्रतिक्रिया