रुसले नेपाललाई २ करोड ५० लाख डोज कोरोना खोप उपलब्ध गराउने

३ बर्ष अगाडि

रुसले नेपाललाई २ करोड ५० लाख मात्रा (डोज) कोरोना खोप उपलब्ध गराउने भएको छ । रुसको सरकारी स्वामित्वको ‘द रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड’ र नेपाली फर्मास्युटिकल्स वितरक कम्पनी ट्रिनिटीबीच भएको सम्झौताअनुसार रुसले हाल उत्पादन भइरहेको ‘स्पुतनिक भी’ नामक खोप नेपाललाई उपलब्ध गराउने भएको हो ।
 सन् २०११ मा रुसी राष्ट्रपति र प्रधानमन्त्रीको नेतृत्वमा स्थापित फन्ड रुसमा विदेशी लगानी प्रवद्र्धन गर्न कार्यरत छ ।  

सम्झौताअनुसार नेपालका ९० प्रतिशत जनसंख्याले यो खोप पाउने भएको अमेरिकी न्युज एजेन्सी पिआर न्युज वायरले मंगलबार जनाएको छ । तेस्रो तथा अन्तिम चरणको क्लिनिकल परीक्षणमा रुसी खोपको नकारात्मक प्रभाव नदेखिएको र यसले शतप्रतिशत सहभागीमा प्रतिरक्षात्मक प्रतिक्रिया दिएको जनाइएको छ ।

 रुसको गामालेया नेसनल रिसर्च इन्स्टिच्युट अफ इमिडेमोलोजी एन्ड माइक्रोबायोलोजीले निर्माण गरिरहेको सो खोप रुसी स्वास्थ्य मन्त्रालयले दर्ता गरिसकेको छ । विधिवत् दर्ता भएको यो खोप विश्वमै कोरोनाविरुद्धको पहिलो हो ।

सेप्टेम्बर ४ मा मेडिकल जर्नल ल्यानसेटले यो खोपको पहिलो र दोस्रो चरणको परीक्षण नतिजा प्रकाशन गरेको थियो । जर्नलले परीक्षणमा सहभागीमा कुनै किसिमको गम्भीर नकारात्मक प्रभाव नदेखिएको र शतप्रतिशत सहभागीमा स्थिर प्रतिरक्षा प्रणाली विकास भएको जनाएको थियो ।

 हाल ४० हजार स्वयंसेवकमा यो खोपको परीक्षण भइरहेको छ भने अरु ६० हजारले परीक्षणमा सहभागी हुन नाम दर्ता गरेको जनाइएको छ । यो परीक्षणको नतिजा आगामी अक्टुबर–नोभेम्बरमा प्रकाशित हुने तयारी छ ।

 एसिया, मध्यपूर्व, ल्याटिन अमेरिका र युरोपका ५० देशले यो खोप माग गरेका छन् । फन्डले यसअघि नै मेक्सिकोलाई ३ करोड २० लाख, ब्राजिललाई ५ करोड, भारतलाई १० करोड र उज्वेकिस्तानलाई ३ करोड ५० लाख मात्रा दिने घोषणा गरिसकेको छ । नागरिक दैनिकमा खबर छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया