कोरोना खोपको पहिलो प्राथमिकतामा २ लाख २५ हजार स्वास्थ्यकर्मी

३ बर्ष अगाडि

काठमाडौं - भारतले अनुदानमा दिएको कोरोना विरुद्धको खोप सरकारले आजबाट क्षेत्रीय मेडिकल स्टोरमा ढुवानी गर्दै छ । त्यहाँबाट जिल्लाहरूमा वितरण हुने बताइएको छ । 

साथै खोप लगाउन सरकारले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र अन्य जोखिमयुक्त क्षेत्रमा काम गर्ने चार लाख ३० हजार कर्मचारीको सूची तयार गरिसकेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मीलाई राखिएको छ । उनीहरूको संख्या २ लाख २५ हजार सात सय ८२ छ । बाँकी सरसफाइकर्मी, एम्बुलेन्सचालक, शववाहनचालक, महिला स्वास्थ्य स्वयंसेविका र फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी छन् ।

केही दिनभित्रै ७७ वटै जिल्लामा एकसाथ खोप अभियान सुरु गरिने मन्त्रालयले जनाएको छ । स्रोतका अनुसार स्वास्थ्य सेवा विभागले खोप शनिबार नै क्षेत्रीय मेडिकल स्टोरमा ढुवानी गर्न तीनवटा गाडी तयार गरिसकेको थियो । तर, मन्त्रालयले स्वीकृति दिइनसकेका कारण जान पाएनन् ।

भारतले अनुदानमा दिएको खोप गत बिहीबार काठमाडौं आइपुगेको थियो । खोप टेकुस्थित स्वास्थ्य सेवा विभागको केन्द्रीय खोप भण्डारणगृहमा राखिएको छ । महामारी नियन्त्रणमा फ्रन्टलाइनमा खटिएकाको संख्याका आधारमा ती खोप विराटनगर, हेटौँडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीस्थित क्षेत्रीय मेडिकल स्टोरमा पठाइने स्वास्थ्य सेवा विभागले जनाएको छ । 

सरकारले पहिलो चरणमा कुल जनसंख्याको तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार तीन सय ४२ नागरिकलाई खोप लगाउने योजना बनाएको थियो । तर, १० लाख खोप मात्रै आएकाले अहिले करिब चार लाख नागरिकलाई लगाइनेछ । 

विराटनगरस्थित मेडिकल स्टोरमार्फत १६ जिल्लाका ४३ हजार दुई सय ६० स्वास्थ्यकर्मीलाई खोप दिने सरकारको योजना छ । यसका लागि ९६ हजार ३७ डोज चाहिने अनुमान गरिएको छ । 

त्यस्तै, हेटौँडाको मेडिकल स्टोरमार्फत खोप लिने नौ जिल्लामा ३४ हजार दुई सय १२ स्वास्थ्यकर्मी छन् । उनीहरूका लागि ७५ हजार नौ सय ५१ डोज चाहिने अनुमान छ । 

केन्द्रीय खोप भण्डारण स्टोर काठमाडौंमार्फत १० जिल्लाका ६३ हजार तीन सय ६० स्वास्थ्यकर्मीलाई खोप दिइनेछ । यसका लागि एक लाख ४० हजार ६ सय ५९ डोज खोप आवश्यक पर्ने स्वास्थ्य सेवा विभागको अनुमान छ । 

पोखरास्थित मेडिकल स्टोरमार्फत खोप लिने ११ जिल्लाका १७ हजार ६ सय ३० स्वास्थ्यकर्मी छन् । उनीहरूका लागि ३९ हजार एक सय ३९ डोज खोप चाहिने छ । 

बुटवलस्थित मेडिकल स्टोरबाट १२ जिल्लाका ३९ हजार चार सय ९५ स्वास्थ्यकर्मीलाई खोप दिइनेछ । उनीहरूका लागि ८७ हजार ६ सय ७९ डोज चाहिने अनुमान गरिएको छ । 

त्यस्तै, नेपालगन्जस्थित मेडिकल स्टोरमार्फत १० जिल्लाका ११ हजार पाँच सय ३२ र धनगढीस्थित स्टोरबाट नौ जिल्लाका १६ हजार दुई सय ९३ स्वास्थ्यकर्मीलाई खोप दिने सरकारको योजना छ । 

नेपालगन्जका लागि २५ हजार ६ सय एक र धनगढीका लागि ३५ हजार एक सय ७० डोज खोज आवश्यक पर्ने विभागको अनुमान छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया