विश्वमा एकैदिन ६ लाख ५० हजार बढिमा कोरोना पुष्टि हुँदा १० हजार बढिको मृत्यु, नेपालमा एकै साता २८ प्रतिशत वृद्धि

२ बर्ष अगाडि

काठमाडौं - विश्वमा पछिल्लो २४ घण्टामा ६ लाख ५० हजार ५९३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै विश्वमा कोरोना संक्रमितको कुल संख्या १९ करोड ७३ लाख २५ पुगेको छ ।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार सबैभन्दा बढी अमेरिकामा ८४ हजार ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा भारतमा ४४ हजार ६७३, इन्डोनेसियामा ४३ हजार ४७९ र ब्राजिलमा ४१ हजार ८५३ जना कोरोना संक्रमित थपिएका छन् ।

साथै बितेको २४ घण्टामा विश्वमा कोरोना संक्रमणका कारण १० हजार २३४ जनाको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२ लाख १३ हजार ४५ पुगेको छ ।

वल्डोमिटर्सकाअनुसार कोरोनाबाट सबैभन्दा बढीको मृत्यु इन्डोनेसियामा १ हजार ८९३ जनाको भएको छ । सोही अवधिमा ब्राजिलमा १ हजार ३५४, रुसमा ७९९, भारतमा ५४९, मेक्सिकोमा ५३७ र दक्षिण अफ्रिकामा ५२३ जनाको मृत्यु भएको छ ।

त्यस्तै नेपालमा पनि पछिल्ला साताहरुमा कोरोना संक्रमण झन्झन् बढ्दै गएको छ । अघिल्लो साताको तुलनामा नेपालमा कोरोना संक्रमितको संख्या २८ प्रतिशतले बढेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो साता १५ हजार ४३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अघिल्लो साता १२ हजार ८३ जनामा कोरोना संक्रमण भएको थियो । 

यस्तै,पछिल्लो साता कोरोनाका कारण १५४ जनाको मृत्यु भएको छ । अघिल्लो साता यो संख्या २०७ रहेको थियो ।

२ बर्ष अगाडि

प्रतिक्रिया