अमेरिकामा आधा जनसंख्याले मात्र लगाए कोरोना खोप, खोप लगाउने नयाँ व्यक्तिलाई एक सय डलर !

२ बर्ष अगाडि

एजेन्सी - अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्नका निम्ति खोप लगाउने नयाँ व्यक्तिलाई प्रतिव्यक्ति एक सय डलर रकम दिन आह्वान गरेका छन् ।

उक्त रकम राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गत रहेको १.९ ट्रिलियनको कोषबाट प्रयोग गर्न सक्ने बताइएको छ । बाइडेनले संघीय सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी निर्देशन जारी गरेका छन् । 

बाइडेनले खोप लगाउन कामदारलाई समय दिने साना र मझौला व्यवसायमा त्यसबाट पुगेको आर्थिक क्षतिको संघीय सरकारले परिपूर्ति गरिदिने बताए । उनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ । अनिवार्य परीक्षणको सामना गर्नुका साथै मास्क लगाउन तयार समेत हुनुपर्नेछ ।

हालसम्म अमेरिकामा आधा जनसंख्याले मात्र खोपको पूरा मात्रा लिएका छन् । बाइडेनले बढी संक्रामक डेल्टा भेरिएन्टका कारण नयाँ प्रतिबन्धहरू लगाउनु परेको बताए । सो भेरिएन्टले खोप नलगाएकाहरूमा महामारी निम्त्याएको उनको भनाइ छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया