अर्थमन्त्री र चिनियाँ राजदूत बिच भेटवार्ता, थप १६ लाख डोज अनुदानको खोप चाँडै आउने

२ बर्ष अगाडि

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले शिष्टाचार भेट गरेकी छन् । शुक्रबार मन्त्रालयमा भेट गरेकी हुन् । 

भेटमा अर्थमन्त्री शर्माले कोरोना महामारी र भूकम्पपछिको पुननिर्माणमा प्राप्त भएको चिनियाँ सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनिया सहयोग र सदभाव निरन्तर रहने विश्वास व्यक्त गरेका छन् । 

मन्त्री शर्माले कोभिड विरुद्ध जनतालाई खोप लगाउनु सरकारको प्राथमिकताको काम भएको भन्दै चीनले १८ लाख डोज खोप अनुदानमा दिएकोमा आभार प्रकट गरेका छन् । उनले चीनबाट थप खोप खरिदको लागि प्रक्रिया अघि बढाएकोले त्यस कार्यमा राजदूतबाट सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरेका छन् । 

मन्त्री शर्माले चिनियाँ सहयोगमा नेपालमा सञ्चालित विभिन्न आयोजनाहरूको कार्यन्वयनमा अनुगमन गरी देखिएका समस्या समाधान गर्न र कार्यसम्पन्न गर्न सरकारको तर्फबाट तदारुकता रहने प्रतिवद्धता व्यक्त गरेका छन् । 

भेटको क्रममा चिनियाँ राजदूत होउले नवनियुक्त अर्थमन्त्री शर्मालाई बधाई दिँदै जुनसुकै सरकार आएपनि नेपाललाई हेर्ने चिनियाँ नीति र दृष्टिकोणमा परिवर्तन नआउने धारणा व्यक्त गरेकी छिन् । उनले चीनले यसअघि नै नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको र थप १६ लाख डोज अनुदानको खोप पनि चाँडै प्राप्त गर्ने जानकारी दिइन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया