ओली सरकारले ल्याएको बजेट भोलिदेखि निष्क्रिय, सहमतिबाटै अर्थसम्बन्धी विधेयक पारित हुने अर्थमन्त्रीको भनाई

२ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल एमालेको सहमतिमै संसदमा पेस भएका अर्थसम्बन्धी विधेयकहरू पारित गर्ने बताएका छन् । 

एमाले सांसदहरूको नाराबाजीकाबीच प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयकसहित विभिन्न अर्थसम्बन्धी विधेयक पेस भएका छन् । एमालेलाई सहमतिमा ल्याएर सो विधेयक पारित गर्ने अर्थमन्त्री शर्माले बताएका हुन्। 

‘सहमतिका लागि वार्ता भइरहेको छ । सहमतिबाटै पारित गर्छौं’, अर्थमन्त्री शर्माले भने, ‘सहमति भएन भने नियमित प्रक्रियाबाट पारित गर्छौ ।’  यससँगै ३० भदौबाट केही दिन सरकारी कोषबाट रकम खर्च गर्न नपाइने भएको छ । अघिल्लो सरकारले १५ जेठमा ल्याएको बजेट अध्यादेश ३ साउनमा संसदमा पेश भएको थियो । 

प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले  बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २५ भदौमा टेबल गरेका थिए ।  मंगलबार एमाले सांसदको नाराबाजीकै बीच प्रतिस्थापन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पास भयो । र, संसदको अर्को बैठक ४ असोजका लागि तोकिएको छ ।

बजेट पास नभएपछि अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पास नभएसम्म सरकारले नियमित खर्च नगर्ने बताएका छन् । संसदमा विनियोजन विधेयक पेश गरेपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पारित नभएसम्म सरकारले नियमित खर्च नगर्ने बताएका हुन् । 

भोलि बुधबार राति १२ बजेबाट केपी ओली सरकारले प्रतिनिधिसभा विघटन गरेर अध्यादेशबाट ल्याएको बजेटको ६० दिन पुग्दैछ । ६० दिनमा अध्यादेश पारित नभए स्वत निष्क्रिय हुन्छ । ओली सरकारले ल्याएको बजेट निष्क्रिय भएको र अहिले पेस भएको प्रतिस्थापन विधेयक पारित नभएकाले ५/७ दिन सरकारी खर्च रोकिने अर्थमन्त्रीको भनाइ थियो । 

अर्थमन्त्रीका शर्माअनुसार कर उठाउने विशेष व्यवस्था हुनेछ । सरकारले अहिले ल्याएको बजेट संसदको आउँदो बैठकमा पास हुने संकेत गरेको छ । शर्माले सकभर सहमतिमै नभए प्रक्रियाअनुसार विधेयक पारित हुने बताए ।  यसका लागि वार्ता, सम्वाद, छलफल भइरहेको बताए । 

२ बर्ष अगाडि

प्रतिक्रिया