विदेशी विनिमय सञ्चिति घट्यो, ९ महिना आयात गर्न सक्ने विदेशी मुद्रा नेपालमा

२ बर्ष अगाडि

चालू आर्थिक वर्षको पहिलो महिनामा कुल विदेशी विनिमय सञ्चिति ३.२ प्रतिशतले कमी आएको छ । २०७८ असार मसान्तमा रु १३ खर्ब ९९ अर्ब ३ करोड बराबर विदेशी विनीमय सञ्चिती रहेकोमा  २०७८ साउन मसान्तमा घटेर जम्मा रु १३ खर्ब ५३ अर्ब ८२ करोड कायम भएको छ । 

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ साउन मसान्तमा २.८ प्रतिशतले कमी आई ११ अर्ब ४२ करोड रहेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा ३.१ प्रतिशतले कमी आई रु.१२ खर्ब ६ अर्ब ५१ करोड कायम भएको छ । जुन गएको असार मसान्तमा रु १२ खर्ब ४४ अर्ब ६३ करोड रहेको थियो ।

त्यस्तै नेपाल राष्ट्र बैंकबाहेकका अन्य बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति  ४.६ प्रतिशतले कमी आएको छ । गत असार मसान्तमा रु १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा साउन मसान्तमा घटेर रु १ खर्ब ४७ अर्ब ३१ करोड कायम भएको छ । २०७८ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.२ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनाको आयातलाई आधार मान्दा नेपालको बैकिङ्ग क्षेत्रसँग रहेको उक्त विदेशी विनिमय सञ्चितिले ९.३ महिनाको वस्तु आयात गर्न पुग्छ । वस्तु तथा सेवा आयात गर्दा ८.३ महिनालाई पुग्ने आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । 

२०७८ साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, ३१.७ प्रतिशत, कुल आयात ६९.४ प्रतिशत र र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु २६.७ प्रतिशत रहेको छ । गएको असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।

२ बर्ष अगाडि

प्रतिक्रिया