गएको असारमा धितोपत्र बजारमा १७ अर्ब ७३ करोड बढीको थप धितोपत्र सूचीकृत भएका छन् ।
साधारण शेयर (आईपीओ), बोनस शेयर, डिबेञ्चर र हकप्रद गरि नेपाल स्टक एक्सचेन्ज नेप्सेमा १७ अर्ब ७३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको नेपाल राष्ट्रबैंकले जनाएको छ ।
राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा १३ अर्ब ७५ करोड रुपैयाँ बराबरको डिबेञ्चर, २ अर्ब ८८ करोड बराबरको साधारण शेयर, ५७ करोड ३९ लाख बराबरको बोनस शेयर र ५२ करोड ४१ लाख बराबरको हकप्रद शेयर गरी कुल १७ अर्ब ७३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।
त्यस्तै २०७८ साउनमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४० जलविद्युत कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ४ व्यापारिक संस्था, ५ लगानी कम्पनी र ३ अन्य समूहका रहेका छन् । २०७७ साउनमा सूचीकृत कम्पनीहरूको संख्या २०८ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ६८.२ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ९.८ प्रतिशत, लगानी कम्पनीको ८.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा १.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ७.८ प्रतिशत रहेको छ ।
प्रतिक्रिया