विन लघुवित्तको नियम विपरित बुकक्लोज सम्बन्धि सूचना,नेप्सेले गर्‍यो कारोबार रोक्का

१ बर्ष अगाडि

काठमाडौं, विन नेपाल लघुवित्तले नियम विपरित बुकक्लोज सम्बन्धि सूचना प्रकाशित गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लघुवित्तको कारोबार रोक्का गरेको छ। बुक क्लोज सम्बन्धी सूचना समयमा नदिएको भन्दै नेप्सेले कारोबार रोकेको हो। 

कम्पनीले नेप्सेमा पठाएको पत्रमा बैशाख २९ गते बसेको सञ्चालक समितिको बैठकले जेठ ३ गते साधारणसभा प्रयोजनको लागि बुकक्लोज गर्ने निर्णय गरेको उल्लेख छ।

कप्पनीले बुकक्लोज सम्बन्धि निर्णय गरेपश्चात नेप्सेमा १ दिन पनि कारोबार हुन सकेको छैन्। २९ गतेपश्चात एकैपटक मंगलबार शेयर कारोबार खुलेको छ। मंगलबार नै कम्पनीले शेयर दाखिला खारेज हुने सूचना नेप्सेमा देखियो। आजै शेयर दाखिला खारेज हुने भएकोले कम्पनीले बुकक्लोज सम्बन्धि निर्णय गरेपश्चात कुनै पनि लगानीकर्ताले दोस्रो बजारमा शेयर खरिद बिक्री गर्न पाएनन्।

 धितोपत्र सुचीकरण विनियमावलिको विनियम २२ को सूचना तथा जानकारी पेश गर्नुपर्ने व्यवस्था छ। सो व्यवस्थाको ग मा धितोपत्रको बुकक्लोज हुने सम्बन्धी सूचना त्यस्तो दाखिल खारेज हुनु भन्दा कम्तीमा सात दिन अगाडि नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था छ।

तर कम्पनीले २९ गते नै निर्णय गरेर सूचना पेस गरेको भएपनि मंगलबार ५ दिन मात्रै भएको छ। जुन पाँच दिन नै सार्वजनिक विदा थियो। यसरी कम्पनीले नियम विपरित बुकक्लोज सम्बन्धि सूचना  दिएपछि  लघुवित्तको कारोबार रोकिएको छ। 

अर्कोतर्फ कम्पनीले साधारणसभा समेत समयमा नै सम्पन्न गर्न सकेको छैन। कम्पनी ऐनले कुनै पनि कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा गर्नुपर्ने प्राबधान छ। तर आर्थिक वर्ष सकिएको १० महिनापछि मात्रै कम्पनीले सभा बोलाएको छ।

कम्पनीले बैशाख ३० गते साधारणसभा सम्बन्धि एक सूचना प्रकाशित गरेको थियो। सो सूचनामा जेठ २० गते साधारणसभा गर्ने उल्लेख छ। 

सभामा कम्पनीले शेयरधनीहरुलाई ९.३३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ। कम्पनीको चैत १४ गते बसेको सञ्चालक समितिले शेयरधनीहरुलाई वितरण गर्ने उक्त लाभांश प्रस्ताव गरेको थियो।

पब्लिक कम्पनीले वार्षिक साधारणसभा गर्दा २१ दिन अगाबै सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था कम्पनी ऐनमा छ। सो अनुसार कम्पनीले २१ दिन अगाबै साधारणसभा सम्बन्धि सूचना प्रकाशित गरेको भए पनि धितोपत्र सूचीकरण विनियमावली अनुसार कम्पनीले शेयर दाखिला खारेज भने नियमभन्दा बाहिर गएर गर्न खोजेको देखिन्छ।

बुकक्लोज सम्बन्धि सूचना प्रकाशित भएपछि शेयर खरिद बिक्री गर्न चाहने लगानीकर्ताले भने सो अनुसार शेयर खरिद बिक्री गर्नबाट बञ्चित भएका छन्।

१ बर्ष अगाडि

प्रतिक्रिया