आयातमा कडाइ पछि देशको शोधानान्तर स्थितिमा सुधार

१ बर्ष अगाडि

काठमाडौं - पछिल्लो कहि महिना यता देशको शोधानान्तर स्थितिमा केहि सुधार आउन थालेको छ । आयातमा कडाइ गरिएको कारण पछिल्लो समय शोधानान्तर स्थितिमा केही सुधार देखिएको हो ।

गत बैशाखमा २ खर्ब ८८ अर्ब रुपैयाँले घाटामा रहेको शोधानान्तर स्थिति गत दुई महिनामा केहि सुध्रिएर २ खर्ब ५५ अर्ब रुपैयाँले घाटामा देखिएको छ । केन्द्रिय बैंकको तथ्याँक अनुसार असार मशान्तसम्ममा शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति १ अर्ब २३ करोडले बचतमा रहेको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा चालु खाता ६ खर्ब २३ अर्ब ३३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता ३३३ अर्ब ६७ करोडले घाटामा रहेको थियो । चालु खाता घाटा भने लगातार बढ्दो क्रममा नै देखिन्छ ।

समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर ३४.५ प्रतिशतले घटेर ९ अर्ब ९९ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४.९ प्रतिशतले घटेर १८ अर्ब ५६ करोड कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १५ अर्ब २६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १९ अर्ब ५१ करोड रहेको थियो ।

२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.१ प्रतिशतले घटेर २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७९ असार मसान्तमा १५.१ प्रतिशतले घटेर १० खर्ब ५६ अर्ब ३९ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंकबाहेक० सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७९ असार मसान्तमा ३.२ प्रतिशतले बढेर १ खर्ब ५९ अर्ब ४१ करोड पुगेको छ ।

२०७९ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत रहेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया