दूरसञ्चार सेवा प्रदायकको बक्यौता तीन अर्ब

सोमबार, २८ माघ २०७५, ०७ : २९

 काठमाडौं - संघीय संसद्को अर्थ समितिले नौ दूरसञ्चार सेवा प्रदायकबाट झन्डै तीन अर्ब रुपैयाँ बक्यौता तत्काल उठाउन र नतिरेमा इजाजत रद्दसम्मको कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आइतबार बसेको बैठकले एक महिनाभित्र उक्त बक्यौता असुलउपर गराउन अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको समिति सभापति कृष्णप्रसाद दाहालले बताए। समितिले बक्यौता रकम असुल नभएसम्म ती कम्पनीलाई थप सुविधा, पुँजी वृद्धि र सेवा विस्तार गर्न अनुमति नदिन निर्देशन दिएको छ।

यसअघि पनि समितिले बक्यौता नतिरेमा इजाजत खारेज गर्न निर्देशन दिएको थियो। तर अहिलेसम्म त्यसमा कुनै कारबाही भएको छैन। ‘लामो समयसम्म बक्यौता उठाउने विषयमा कारबाही भएको छैन,’ दाहालले भने, ‘समितिले दिएको निर्देशन कार्यान्वयन नहुने गरी के भइरहेको छ भनेर विस्तृत विवरणसमेत माग गरेका छौं।’ विभिन्न नौवटा दूरसञ्चार प्रदायकले आयकर, मूल्य अभिवृद्धि कर, फ्रिक्वेन्सी दस्तुर, नवीकरण दस्तुर, रोयल्टीलगायत कर र गैरकर राजस्व बक्यौताबापत सरकार र नेपाल दूरसञ्चार प्राधिकरणलाई दुई अर्ब ९६ करोड रुपैयाँ बुझाउन बाँकी छ। यो २०७५ पुस मसान्तसम्मको बक्यौता हो। नागरिक दैनिकमा खबर छापिएकाे छ । 

सोमबार, २८ माघ २०७५, ०७ : २९

प्रतिक्रिया