ब्रोकर कम्पनी अध्यक्ष र सीइओको न्यूनतम शैक्षिक योग्यता कति ?

१ बर्ष अगाडि

काठमाडौं - धितोपत्र व्यवसायी नियमावली २०६४ को पाँचौपटक संशोधित व्यवस्था अनुसार पुराना ब्रोकर कम्पनी अध्यक्ष र सीइओको न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर तोकिएको छ । यस अनुसार पुराना ब्रोकरले तीन वर्षभित्र चुक्ता पुँजीसहित शैक्षिक योग्यता बढाउनुपर्ने भएको छ । 

सञ्चालकको हकमा भने शैक्षिक योग्यता स्नातक तह मात्रै तोकिएको छ । पुराना ब्रोकरको हकमा नियमावली लागू भएको ३ वर्षभित्र ब्रोकर अध्यक्ष र सीइओको हकमा स्नातकोत्तर तह र सञ्चालकको हकमा स्नातक तह कायम रहनुपर्ने अनिवार्य व्यवस्था गरिएको हो ।

बोर्डले हालै संशोधन गरेको धितोपत्र व्यवसायी नियमावली २०६४ मा ब्रोकर कम्पनीको सञ्चालक, अध्यक्ष एवम् प्रमुख कार्यकारीको शैक्षिक योग्यता सम्बन्धी व्यवस्था गरिएको छ ।

 नियमावलीको परिच्छेद ४ नियम १७ मा सञ्चालक तथा कार्यकारी प्रमुखको योग्यता तोकिएको छ । सञ्चालक समितिको अध्यक्ष र कार्यकारी प्रमुखको लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, लेखा, व्यवस्थापन, कानुन वा सूचना प्रविधि विषयमा कम्तिमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेसन्सी गरेको हुनुपर्ने योग्यता तोकिएको छ ।

त्यस्तै ब्रोकर कम्पनीको सञ्चालकको हकमा न्यूनतम योग्यता स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने प्रावधान राखिएको छ । ब्रोकर कम्पनीका सञ्चालक, अध्यक्ष तथा सञ्चालकको कार्य अनुभवको हकमा भने धितोपत्र बजार, वित्तिय क्षेत्र वा वित्त व्यवस्थापन सम्बन्धी कार्यमा कम्तिमा ५ वर्षको कार्य गरेको अनुभव भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।


 

१ बर्ष अगाडि

प्रतिक्रिया