आर्थिक समस्या सामाधान गर्न अर्थमन्त्रीले बनाए समिति, एक साताभित्र प्रतिवेदन आउने

१ बर्ष अगाडि

काठमाडौं - अर्थ मन्त्री जनार्दन शर्माले मुलुकमा देखिएको पछिल्लो आर्थिक अवस्था तथा व्यवसायीक क्षेत्रबाट देखाइएको चासोका विषयमा विश्लेषण गरी एक हप्ता भित्र सुझाव दिन एक सुझाव समिति गठन गरेका छन् । 

आइतबार मन्त्रालयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल रास्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल उद्योग बाणिज्य संघ, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, नेपाल बैंकर्स संघ लगायत सरोकारवाला निकायका प्रतिनिधिहरु सम्मिलित बैठकमा नेपालको आर्थिक अवस्थाको बारेमा छलफल भएको थियो ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले मुलुकको अर्थतन्त्रमा देखिएको चापलाई सबै मिलेर समाधान गर्नुपर्ने धारणा राखेका थिए । अर्थतन्त्रमा देखिएको असहजता कुनै एक निकायको मात्र समस्या नभएर समग्र मुलुकको समस्या रहेको बताउदै उनले यसमा कसैलाई दोष लगाएर पन्छिन नहुने बताए । ‘यो समस्याको समाधान सबै पक्ष बसेर छलफल गरी समाधानको उपाय निकाल्नुपर्छ’, उनले भने, ‘कुनै एकलाई दोष लगाएर होइन, मिलेर जानुपर्छ ।’

मन्त्री शर्माले चालु आर्थिक वर्षको बजेटमा किसान तथा साना उद्योगलाई प्रोत्साहन हुने गरी व्यवस्था गरिएको दोहोरयाउदै कार्यान्वयनमा तदारुकता दिन सम्बन्धित निकायलाई आग्रह गरे ।

पछिल्लो समय बैंकहरूले ब्याज वृद्धि गरेको गुनासो आफ्नो जिल्ला भ्रमणका क्रममा व्यवसायीहरूले गरेकोबारे ध्यानाकर्षण भएको बताउदै उनले साना उद्यमीहरूलाई सहुलियतमा ऋण उपलब्ध गराउन पनि आग्रह गरे । ‘किसान तथा साना उद्यमीहरूलाई प्रोत्साहन नगरीकन अर्थतन्त्र सुधार हुँदैन’, उनले साना उद्यमीलाई ढुक्क हुन आग्रह गर्दै भने, ‘यसबारे बजेटले पनि स्पष्ट बोलेको छ ।’

१ बर्ष अगाडि

प्रतिक्रिया