छिमेकी मुलुकमा कोरोना सङ्क्रमण बढेपछि नेपालमा पनि सतर्कता अपनाउन सरकारकाे आग्रह

१ बर्ष अगाडि

काठमाडाैं / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै सजग रहन आग्रह गरेको छ । छिमेकी राष्ट्र चीनमा कोरोनाको नयाँ लहर फैलिएर अस्पतालहरू भरिभराउ भएका खबर सार्वजनिक भएलगत्तै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

स्वास्थ्य मन्त्रालयलका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै छिमेकी मुलुकहरूमा पछिल्लो समय सङ्क्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा नेपालमा सचेत रहन आग्रह गर्नुभएको छ । मन्त्रालयका अनुसार चीनसहित छिमेकी मुलुकहरूमा पुष्टि भएका बीएफ ७ भेरियन्ट हालसम्म नेपालमा भने पुष्टि भएको छैन ।

तर, सङ्क्रमण फैलिने जोखिमलाई ध्यानमा राख्दै मन्त्रालयले मास्क लगाउन, भौतिक दूरी कायम राख्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ । सहप्रवक्ता अधिकारीका अनुसार एक महिनामा देशका विभिन्न ठाउँबाट सङ्कलन गरिएका नमुनाको ‘जिन सिक्वेन्सिन’ गर्दा वीएफ ७ नामक प्रजातिको भेरियन्ट फेला नपरेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ४८ नमुना परीक्षण गर्दा सबैमा ओमिक्रोन भेरियन्ट फेला परेको उहाँले जानकारी दिनुभयाे । सहप्रवक्ता डा. अधिकारीले नयाँ भेरियन्ट पुष्टि हुँदै फैलिँदै गरेको अवस्थामा मन्त्रालयले निगरानी बढाउने एवम् सम्बन्धित देशसँग समन्वय गर्ने कार्य भइरहेको जानकारी दिनुभयो ।

नेपालमा कोभिड–१९ को सङ्क्रमण कम भए पनि विश्वव्यापी रूपमा हेर्दा केही देशहरूमा भने सङ्क्रमणको नयाँ स्वरुप बढिरहेकाले जोखिम रहेको मन्त्रालयले जनाएको छ । हाम्रै छिमेकी देशहरूमा सङ्क्रमणको पछिल्लो अवस्थाबाट हामी सूसुचित हुँदै सजक हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।

कोभिड–१९ को सङ्क्रमणको जोखिम फरक स्वरुपमा देखिरहेकाले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले सबैलाई मास्कको प्रयोग गर्न, एक अर्काबीच भौतिक दूरी कायम राख्न र व्यक्तिगत हातको सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरेको छ । मन्त्रालयले सबै सिमानाका बिन्दुका स्वास्थ्य सहायता कक्षहरूमा स्क्रिनिङ, निगरानी, सतर्कता एवम् आवश्यक तयारी गर्न आग्रह गरेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया