काठमाडौँ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सहकारीले बचतकर्ताको विश्वास जित्नुपर्ने आवश्यकता बनेको बताएका छन् ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयद्वारा वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘सहकारी संस्था समस्या समाधान र सुशासन प्रवर्द्धन’ विषयक प्रदेशस्तरीय कार्यशालामा सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले सहकारीमार्फत जनपरिचालन गरेर विकासमा योगदान दिन आवश्यक रहेको बताएका छन्।
‘सहकारीलाई जनपरिचालनको माध्यम बनाएर अघि बढाउन सके आयआर्जनका क्रियाकलाप अगाडि बढ्न सक्छन् । संविधानले नै समाजवादको कल्पना गरेकाले सहकारीलाई विकासमा योगदान पुर्याउने संस्थाका रूपमा विस्तार गर्न सकिन्छ,’ मन्त्री शर्माले भने।
आर्थिक सम्पन्नताले सुख र सामाजिक न्यायले खुसी प्राप्त गर्न सकिने भएकाले आफूले त्यसलाई ध्यान दिएर काम गरिरहेको जनाउँदै मुख्यमन्त्री शर्माले सहकारीका क्षेत्रमा देखिएका समस्या तीन तहका सरकारले आवश्यक नीतिमार्फत समाधान गर्न सकिने उनको भनाइ थियो ।
‘यसमा देखिएका समस्या, कमजोर व्यवस्थापन आदिमा निर्मम भएर समाधान गरेर अघि बढ्नुपर्दछ,’ उनले भने, ‘कर्णालीमा सहकारीमा सुशासन कायम गर्न सङ्घ, प्रदेश र स्थानीय तहमा सहकार्य गरेर मात्र सम्भव छ ।’
सहकारी, निजी र सरकारी निकायको सहकार्यबाट आर्थिक क्रियाकलापलाई चलायमान गर्न राज्यले तीनखम्बे नीति अवलम्बन गरेको मुख्यमन्त्री शर्माले बताए। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले अहिलेको अवस्थामा सहकारीमा आबद्ध सदस्यहरूको विश्वास जित्नु सहकारीका लागि चुनौतीपूर्ण भएको उनको भनाइ थियो।
प्रतिक्रिया