उच्च विन्दुमा बिटक्वाइन

२ महिना अगाडि


काठमाडौँ - पहिलो विकेन्द्रित क्रिप्टो मुद्राका रूपमा चिनिने ‘बिटक्वाइन’ को मूल्य यो साता आफ्नो इतिहासकै उच्चतम विन्दुमा पुगेको छ । मंगलबार प्रतिमुद्रा ६९ हजार अमेरिकी डलर अर्थात लगभग ९१ करोड नेपाली रुपैयाँमा कारोबार भएको बिटक्वाइन बुधबार साँझ ६६ हजार अमेरिकी डलर आसपासमा ओर्लिएको छ ।


 यसअघि सन् २०१९ मा बिटक्वाइनको उच्चतम विन्दु ६५ हजार अमेरिक डलर पुगेको थियो । बिटक्वाइनको वर्तमान मूल्यवृद्धिले क्रिप्टो मुद्रा बजारमा सुधारको संकेत देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । आफ्नो स्थितिमा निरन्तर सुधार गरेको बिटक्वाइनको उछालले इथर, सोलनालगायत अन्य क्रिप्टो मुद्राहरूको स्थितिसमेत बलियो बनाएको फोर्ब्सले उल्लेख गरेको छ । सन् २०२२ को अन्त्यमा क्रिप्टो कारोबार प्लाटफर्म एफटिएक्स ठगी मुद्दामा परेर त्यसका सञ्चालक साम ब्यांकम्यान फ्रिड जेल गएपछि क्रिप्टो मुद्रा बजार ओरालो लागेको थियो । त्यो बेला बिटक्वाइनको मूल्य १६ हजार अमेरिकी डलरसम्म झरेको थियो । वर्ष २०२३ मै क्रिप्टो मुद्रा कारोबार गर्नेमध्ये केही वित्तीय संस्थाहरू डुबेपछि बिटक्वाइन अत्यन्तै जोखिममा रहेको भनिएको थियो । सो वर्षको अन्त्यसम्ममा आफ्नो स्थिति उल्लेख्य सुधार गर्दै बिटक्वाइनको मूल्य ४२ हजार अमेरिकी डलर आसपाससम्म पुग्न सफल भएको थियो । विश्वको क्रिप्टो बजारको झन्डै आधा हिस्सा ओगटेको बिटक्वाइनको वर्तमान कूल बजार मूल्य १३ खर्ब अमेरिकी डलर आसपास रहेको मानिन्छ । जनवरीमा अमेरिकाको सेक्युरिटिज एन्ड एक्स्चेन्ज कमिसनले स्पट बिटक्वाइन अर्थात बिटक्वाइनजस्ता क्रिप्टो मुद्रा खरिद नगरिकनै यसको बजारमा लगानी र किनबेच गर्न मिल्ने अनुमति दिएपछि बिटक्वाइनको दबदबा अझै बढेको एल्म्याक्स ग्रुपका बजार विश्लेषक जो क्रुगरको अनुमान छ ।

परम्परागत शेयर बजारसँग पनि जोडेर कारोबार गर्न मिल्ने सहजता भएयता लगानीकर्ताहरूले ११ विभिन्न लगानी फर्ममार्फत झन्डै ८ अर्ब डलर बिटक्वाइन क्षेत्रमा खन्याइसकेको ब्लुमबर्गको अनुमान छ । बढ्दो माग र सुधारिँदै गएको बजारले अत्यन्तै बलियो रहेको देखाए पनि जोखिम उत्तिकै रहेको कतिपय बजार विश्लेषकको भनाइ छ । सन् २०२३ को अन्त्यसम्ममा झन्डै २० लाख बिटक्वाइन माइन भइसकेको र अब लगभग डेढ लाख आसपास माइन हुन बाँकी रहेको क्रिप्टो बजारलाई नजिकबाट नियाल्नेहरूको आँकल्न छ । बिटक्वाइन पछि इथेरियम, टिथर, बीएन्डी, डजक्वाइनलगायत ९९ वटा अन्य मुद्रालाई ठूला क्रिप्टो मुद्रा मानिन्छन् । तीमध्ये टिथरसमेतका ७\८ वटा मुद्राको मात्रै स्थिती ऋणात्मक रहेको बताइन्छ ।

२ महिना अगाडि

प्रतिक्रिया