चेम्बरद्वारा विद्यालयलाई करिब चार लाख रुपैयाँ बराबरको सामग्री वितरण

१ महिना अगाडि

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्स मकाउले आरोग्य आश्रम र खोकना जन माध्यमिक विद्यालयलाई करिब चार लाख रुपैयाँ बराबरको सामग्री वितरण गरेको छ।

चेम्वरले दक्षिणकाली नगरपालिका –२ स्थित तौथलीको खोकना आरोग्य आश्रमका कुष्ठरोगी प्रभावितहरू, खोकनास्थित जन माध्यमिक विद्यालय तथा दक्षिणकाली नगरपालिका –४ बाँसवारीस्थित बालसुधार आधारभूत विद्यालयलाई करिब ४ लाख रुपैयाँ बराबरको सहयोग सामग्री एक समारोहबिच वितरण गरेको हो । दक्षिणकाली –२ स्थित तौथलीको खोकना आरोग्य आश्रमलाई दैनिक उपभोग्य सामग्री वितरण गरियो भने तौथलीस्थित खोकना जन माध्यमिक विद्यालय र बाँसवारीस्थित बालसुधार आधारभूत विद्यालयका विद्यार्थीहरूले दैनिक प्रयोग गर्ने तीन सय थान स्कुल ब्याग प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री एवं सांसद राजेन्द्र कुमार केसीसहित बागमती प्रदेश सांसद तथा निवर्तमान प्रदेश मन्त्री पुकार महर्जन, दक्षिणकाली नगर प्रमुख मोहन बस्नेत र उपप्रमुख बसन्ती तामाङको उपस्थिति थियो ।सो कार्यक्रममा मकाउ संघका अध्यक्ष सुदर्शन थापा मगरले सो सहयोग सामग्री उपलब्ध गराएका थिए । यसैगरी, मकाउमा रहेको नेपाल चेम्बर अफ कमर्सले ४ फेब्रअरी २०२४ मा च्यारिटी शो कार्यक्रम “नेपाली कल्चरल नाइट इन मकाउ“ आयोजना गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि हङकङ र मकाउका लागि नेपाली महावाणिज्य दूतावासका काउन्सुलेट जनरल उदय बहादुर राना मगरसहित मकाउ र हङ्कङगसँग आबद्ध संघका संस्थाका प्रतिनिधिहरू उपस्थिति थियो । च्यारिटी शो नेपाली सांस्कृतिक साँझ, रोमान्चक बनाउनको लागि नेपालदेखि कलाकारहरू रेश्मा पुन मगर, बिन्दु परियार र जोगिन्दर पानवाला (शिवशंकर प्रसाद रिजाल)ले प्रस्तुति दिएका थिए।

स्थानीय कलाकारहरू सुमित भुषाल, संगीता खनाल, सुमन रेग्मी र सुमित्रा थापा मगरले पनि प्रस्तुति दिएका थिए । संगीत तथा नृत्यप्रमेमीहरूको उल्लेखनीय उपस्थित रहेको हुँदा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ । सो कार्यक्रमबाट अशक्त, अनाथ, बालबालिका र ज्येष्ठ नागरिकलाई सहयोग समेत सहयोग प्राप्त हुने जनाइको छ ।

कार्यक्रममा मकाउका स्थानीय, मकाउमा बस्दै आएका नेपालीहरू, हङ्कङका केही नेपालीहरूले सहयोग गरेको अध्यक्ष सुदर्शन थापा मगरले जानकारी दिए ।





१ महिना अगाडि

प्रतिक्रिया