पछिल्लो तीन वर्षमा होटल चितवनको व्यापारमा उल्लेख्य वृद्धि

४ हप्ता अगाडि

काठमाडौं-  होटल चितवन प्रालिको व्यापार पछिल्लो तीन वर्षमा ७१.८१ प्रतिशतले बढेको छ । नेपालका एकमात्र डलर अर्बपति चौधरी ग्रुपको लगानी रहेको उक्त होटलको व्यवसायिक सफलता पाएसँगै ब्यापार चम्किएको हो । कम्पनीले व्यवसायिक कम्प्लेक्ससँगै तीनतारे होटल सञ्चालन गर्दै आएको छ ।

होटलले आर्थिक वर्ष २०७६/७७ मा ७ करोड ४३ लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको थियो । आर्थिक वर्ष २०७९/८० सम्म आइपुग्दा उक्त होटलको सञ्चालन आम्दानी १२ करोड ८४ लाख रुपैयाँ बराबर पुगेको हो । तीन वर्षको अवधिमा होटलको सञ्चालन आम्दानी ५ करोड ४१ लाख रुपैयाँले बढेको हो । होटलले आर्थिक वर्ष २०७७÷७८ मा ९ करोड ७७ लाख रुपैयाँ र आव २०७८।७९ मा ११ करोड ४३ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । होटल चितवनको सञ्चालन आम्दानी २०७६/७७ लाई आधार मान्दा प्रत्येक वर्ष क्रमशः ३१.४९ प्रतिशत, १६.९९ प्रतिशत, १२.३४ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्ष २०८०/८१ को ७ महीनामा होटलले ६ करोड १२ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन गत आवको ६ महिनाको औसतभन्दा १ करोड ३७ लाख रुपैयाँले कम हो । गत आवको ७ महीनामा होटलले ७ करोड ४९ लाख बराबरको सञ्चालन आम्दानी गरेको थियो ।

होटलमा विनोद चौधरीका जेठो छोरा निर्वाण चौधरीको सबैभन्दा धेरै ५३।३० प्रतिशत, एप्पोलो क्यापिटल इन्भेष्टमेन्ट प्रालिको ४०।२० प्रतिशत र श्रीमती सारिका चौधरीको ६।५० प्रतिशत सेयर हिस्सा रहेको छ । कम्पनीले क्रेडिट रेटिङ्ग इक्रा नेपाल मार्फत अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि कुल १ अर्ब २६ करोड २९ लाख रुपैयाँको रेटिङ गराएको छ । इक्रा नेपालले होटल चितवन प्राइभेट लिमिटेडको १ अर्ब २५ करोड २५ लाख रुपैयाँ बराबरको दीर्घकालीन बैंक ऋणको रेटिङलाई ‘एलबी प्लस’ बाट ‘एलबीबी माइनस’ मा घटाएको छ । यस्तै एक करोडको अल्पकालीन ऋणलाई प्रदान गरिएको इक्र एनपी ‘ए–४’ लाई पुनः पुष्टि गरेको छ ।

हाल होटल चितवनले ४८ वटा कोठाको सुविधा तथा १ लाख ८० हजार स्क्वायरफिट क्षेत्रफलमा ७० वटा रिटेल स्टोरको मल्टिप्लेक्सको सुविधा दिँदै आएको छ । कम्पनीले भारतको द इन्डियन होटल कम्पनी लिमिटेडसँग सम्झौता गरेर नेपालमा फ्रेन्चाइज भित्र्याएको हो । होटल चितवनले सम्झौता गरेको फर्न रेसिडेन्सी ब्राण्डलाई बन्द गरेर भिभान्ता होटल सञ्चालन गर्दै आएको छ । साथै कम्पनीले मल भने सीजी ल्यान्डमार्क ब्राण्डमा सञ्चालन गर्दै आएको छ ।

४ हप्ता अगाडि

प्रतिक्रिया