सन्दीपको मुद्दामा आफ्नो नाम जोडिएपछि क्यानका सचिव पारसले दिए  कानुनी उपचार खोज्ने चेतावनी

१ हप्ता अगाडि

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान( का सचिव पारस खड्काको एउटा स्टाटस अहिले सामाजिक सञ्जालमा चर्चामा छ । स्टाटसमा उनले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले नियोजित षड्यन्त्र भइरहेको उल्लेख गरेका छन् ।

पछिल्लो समय पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा उनको नाम जोडेका सामग्री सामाजिक सञ्जालमा भाइरल भएपछि पारसले यस्तो बताएका हुन् । सामाजिक सञ्जालमा आइरहेका ती सामग्रीमा कुनै सत्यता नरहेको र ती आधारहीन भएको उनको भनाइ छ । पारसले गलत सामग्री पोस्ट गर्नेविरुद्ध आफूले कानुनी उपचार खोज्ने पनि चेतावनी गरेका छन् ।

‘केही समययता सामाजिक सञ्जालमा मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहीन तरिकाले ममाथि भइरहेको व्यक्तिगत आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको छ । नेपालको कानुनले कसैलाई पनि बिनाप्रमाण चरित्रहत्या गर्ने वा तर्क नराखी व्यक्तिगत आरोप लगाउने छुट दिएको छैन । नेपालको कानुनले सबैलाई कानुनी उपचारको बाटो खुल्ला राखेको छ,’ पारसले लेखेका छन् ।

सन्दीपको विषयमा अदालतले नै फैसला गरिसकेको अवस्थामा पनि आफूमाथि विभिन्न आरोप लाग्नुलाई उनले ‘नियोजित षड्यन्त्र’ भएको समेत उल्लेख गरेका छन् ।   ‘सन्दीप लामिछानेसँग जोडिएको पछिल्लो मुद्दामा जिल्ला अदालतबाट पहिलो तहको फैसला भइसकेको छ । र, उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जाने नै छ । यो सबैकाबीच समेत तर्कहीन तरिकाले मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले म माथि भइरहेको नियोजित षडयन्त्रलाई ढिलोचाँडो कानुनी दायरामा ल्याउनेसमेत जानकारी गराउन चाहन्छु,’ पारसले लेखेका छन् । उनले अगाडि थपेका छन्, ‘नेपाली क्रिकेटप्रतिको मेरो निःस्वार्थ भावना र यसको विकास, विस्तारप्रतिको मेरो अठोटमा कदापि पनि परिवर्तन नआउनेसमेत सम्पूर्णका बीच संकल्प गर्दछु ।’ 

केही दिनअघि सन्दीपले आफूलाई फसाउनेहरूको नाम सार्वजनिक गर्ने चेतावनी दिएपछि धेरैले सामाजिक सञ्जालमा पारसको नाम लिइरहेका थिए । र, ती आरोपको खण्डन गर्दै उनले बुधबार स्पष्टीकरण दिएका हुन् । 

१ हप्ता अगाडि

प्रतिक्रिया