एटीएस ब्रान्डको स्वदेशमा उत्पादित टाइल नेपाली बजारमा

शनिबार, २९ बैशाख २०८१, १२ : ४२

काठमाडौँ - पशुपति सेरामिक्स् प्रालिले आफ्नो उत्पादन एटीएस टाइल्स्को परीक्षण बिक्री वितरणको सुरुवात गरेको छ । सिमरास्थित विशेष आर्थिक क्षेत्रभित्र अवस्थित उत्पादन केन्द्रको निर्माण लगायत अन्य सम्पूर्ण पूर्व तयारीको कार्य सम्पन्न गरी कम्पनीले आफ्ना उत्पादनहरूलाई बजारमा सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । 

नेपालमा पहिलो बहुराष्ट्रिय टाइल्स् कम्पनीको जोइन्ट भेन्चरको रूपमा स्थापित यस कम्पनीले दुई हप्ताको छोटो अवधिमा बजारबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताइएको छ । कम्पनीले सुरुवाती चरणमा भुईँको लागि ४००X४०० मिमिको पार्किङ्ग टाइल र ६००X६०० मिमिको सेमी–भिट्रिफाइड टाइललाई बजारमा ल्याएको हो । भने तत्काल भविष्यमा कम्पनीले क्रमशः ३००X४५० को वाल टाइल र ६००X १२०० को जीभीटी र पीजीभीटी टाइल उत्पादन गर्ने जनाएको छ । कम्पनीले यी सबै प्रकार र आकारको टाइल उत्पादनको लागि स्पेन, इटाली, चीन र भारतको मेसिनरीको प्रयोग गरी ६०००० वर्ग मिटर क्षेत्रफलमा इटालियन प्रविधिमा आधारित कारखानाको स्थापना गरेको छ । 

“अन्तराष्ट्रिय रुपमा स्थापित एटीएस  ब्रान्डको टाइललाई नेपालमै पहिलो बहुराष्ट्रिय जोइन्ट भेन्चरको रूपमा उत्पादन गरी बिक्री वितरणमा ल्याउन पाउँदा हामी गौरवान्वित छौँ,” कम्पनीका कार्यकारी निर्देशक सरोज रौनियारले जानकारी दिए, “यस कदमले नेपाली उपभोक्तालाई आफ्नै देशमा उत्पादित अन्तर्राष्ट्रिय ब्रान्डको टाइल सस्तो र सुपथ मूल्यमा हासिल गर्न सहज गराउनेछ ।”साथै उनले कम्पनीको उत्पादन गुणस्तरीय, उत्कृष्ट डिजाइनका हुनुका साथै शतप्रतिशत वाटर प्रुफ भएको दाबी गरे । 

“उसो त अन्तर्राष्ट्रिय गुणस्तरको टाइल स्वदेशमै उत्पादन हुँदा वार्षिक रूपमा नेपालबाट बाहिरी रहेको करिब २० अर्ब रुपैयाँ देशभित्रै रहने, भविष्यमै हाम्रा उत्पादनहरू बिदेशमा निर्यात हुँदा राष्ट्रको विदेशी मुद्रा आर्जन र सञ्चितिमा वृद्धि हुने र रोजगारीको सृजनाद्वारा राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने हामीले विश्वास लिएका छौं,” कार्यकारी निर्देशक रौनियारले अगाडी जानकारी दिए । करिब डेढ अर्ब लगानीमा स्थापित यस कम्पनीको दैनिक १५ हजार वर्ग मिटर उत्पादन क्षमता रहेको छ भने आफ्ना उत्पादनले नेपाली बजारको करिब ४० प्रतिशत हिस्सा ओगट्ने कम्पनीको आङ्कलन रहेको छ । 

टाइल्स् फर यभ्री यज ट्याग लाइन सहित स्थापित यस कम्पनीले करिब २५० जनालाई रोजगारी दिएको बताएको छ भने सोचअनुसारको डिजाइनमा टाइल उत्पादन गर्न सक्ने क्षमतायुक्त यस कम्पनीले नेपाललाई छिट्टै भविष्यमा टाइल निर्यात राष्ट्रको रूपमा विश्वव्यापी परिचय बनाउन मद्दत गर्ने कम्पनीले विश्वास लिएको छ । 

शनिबार, २९ बैशाख २०८१, १२ : ४२

प्रतिक्रिया