टी २० विश्वकम : भारत - पाकिस्तान, कडा टक्करका बीच भारतको जित

सोमबार, २८ जेठ २०८१, ०७ : ३४

 काठमाडाैं - आइसिसी टी-२० विश्वकपमा पाकिस्तान भारतसँग पराजित भएको छ।समूह चरणको दोस्रो खेलमा भारतलाई ११९ रनमा अल आउट गरेको पाकिस्तान ६ रनले पराजित भएको हो। १२० रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले ७ विकेट गुमाएर ११७ रन मात्रै बनाउन सक्यो। पाकिस्तानका लागि मोहम्मद रिजवानले बनाएको ३१ रन सर्वाधिक रह्यो। उनले ४४ बलमा १ चौका र १ छक्का प्रहार गरे।

कप्तान बाबर आजम, उस्मान खान र फखर जमन १३-१३ रन बनाएर आउट भएका थिए। इमाद वासिमले २३ बलमा १ चौका हानेर १५ रन जोडे । शादब खान ४ र इफ्तिखर अहमद ५ रनमा आउट भएका थिए। नसीम शाहले नटआउट १० रन जोडेका थिए ।

बलिङतर्फ जस्प्रित बुमराहले ३, हार्दिक पाण्ड्याले २ तथा अर्शदीप सिंह र अक्षर पटेलले १ १ विकेट लिए। भारतलाई १९ ओभरमा अल आउट गर्ने क्रममा नसीम शाह र हरिश रौफले ३र३ विकेट लिएका थिए । मोहम्मद अमिरले २ तथा शाहिन शाह अफ्रिदीले १ विकेट लिए। आजको खेलमा भारतका ओपनर विराट कोहली ४ रनमा आउट भए। कप्तान तथा अर्का ओपनर रोहित शर्मा १३ रनमा आउट भए।

भारतका लागि रिशभ पन्तले सर्वाधिक ४२ रन बनाए। उनले ३१ बलमा ६ चौका प्रहार गरे। अक्षर पटेलले १८ बलमा २ चौका र १ छक्का प्रहार गरी २० रन जोडे।अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। समूह चरणमा पाकिस्तान लगातार दुई खेलमा पराजित हुन पुगेको छ। पहिलो खेलमा पाकिस्तान आयोजक अमेरिकासँग पराजित भएको थियो। यो सँगै पाकिस्तानको अन्तिम आठ सम्भावना कठिन बनेको छ। पहिलो खेलमा भारतले आयरल्याण्डलाई पराजित गरेको थियो। दुई खेल जितेको भारत समूहको शीर्ष स्थानमा छ। दोस्रो स्थानमा अमेरिका, तेस्रोमा क्यानडा, चौथोमा पाकिस्तान र पाचौंमा आयरल्याण्ड छन्।

सोमबार, २८ जेठ २०८१, ०७ : ३४

प्रतिक्रिया