युरो कपको  क्वाटरफाइनल खेलमा  इङ्ल्यान्ड र स्विट्जरल्यान्ड भिड्दै

शनिबार, २२ असार २०८१, १७ : १०

काठमाडौँ - युरो कप २०२४ को तेस्रो क्वाटरफाइनल खेलमा आज इङ्ल्यान्ड र स्विट्जरल्यान्ड भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ९:४५ बजे सुरु हुँदैछ ।

उपाधि दावेदारको रूपमा हेरिएको इंग्लिश टोलीले हालसम्म सन्तुष्टि प्राप्त गर्नलायक प्रदर्शन भने गरेको छैन । समूह विजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको इङ्ल्यान्डले समूह चरणमा १ गोल मात्र गरेको थियो । सो बल जुड बेलिङ्घमले पहिलो खेलमा सर्बिया विरुद्ध गरेका थिए । त्यसपछि डेनमार्क र स्लोभेनिया विरुद्ध इङ्ल्यान्डले गोलरहित बराबरी खेल्यो । दुवै खेलमा प्रदर्शन सम्झनलायक रहेका थिएनन् । अन्तिम १६ मा पनि इङ्ल्यान्डले निकै संघर्ष गर्नु परेको थियो ।

२५औं मिनेट देखि पछाडि परेको इङ्ल्यान्डलाई बेलिङ्घमले इन्ज्युरी समयको पाँचै मिनेटमा गरेको उत्कृष्ट गोलले बचाएको थियो । फेरि अतिरिक्त समयको सुरुवातमै ह्यारी केनले गोल गरेपछि इङ्ल्यान्ड अन्तिम आठमा प्रवेश गरेको थियो । सोचेजस्तो प्रदर्शन गर्न नसकेको इङ्ल्यान्डले स्विट्जरल्यान्ड विरुद्ध सिस्टम परिवर्तन गर्ने चर्चा रहेको छ । चार डिफेन्डरले खेल्दै आएकोमा इङ्ल्यान्डके पाँच डिफेन्डर सहित खेल्ने आँकलन इंग्लिश सञ्चार माध्यमहरुले गरेका छन् ।

त्यसमा आजको खेलमा निलम्बित मार्क गेहीको स्थान एज्री कोन्साले लिनेछन् । त्यस्तै राइट विंगर बूकायो साकाले लेफ्ट विङ ब्याक खेल्ने र किइरन ट्रिपियरले राइट विङ ब्याक खेल्ने चर्चा छ । प्रशिक्षक ग्यारेथ साउथगेटलाई उपाधि दिलाउन नसकेको खण्डमा बर्खास्त हुने डर समेत रहेको छ ।

उता स्विट्जरल्यान्डले पछिल्लो चरणमा साविक विजेता इटालीलाई परास्त गरेको थियो । हालसम्म अपराजित रहेको स्विट्जरल्यान्ड डार्क हर्सका रूपमा उभिएको छ । स्विट्जरल्यान्डले समूहमा जर्मनी र स्कटल्यान्ड विरुद्ध बराबरी खेलेको थियो भने हंगेरी विरुद्ध जित हासिल गर्दै दोस्रो स्थान हासिल गरेको थियो । इङ्ल्यान्डलाई स्विट्जरल्यान्ड विरुद्ध सहज भने हुने छैन । तर आँकलन गर्दा इङ्ल्यान्डले यस खेल हार्ने भन्दा जित्ने सम्भावना बढी रहन्छ ।एजेन्सी

शनिबार, २२ असार २०८१, १७ : १०

प्रतिक्रिया