काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको दोस्रो संस्करणको ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ सम्पन्न भएको छ । मंगलबार कमलादीको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना भएको उक्त कार्यक्रम शैक्षिक क्षेत्रमा अब्बल साबित भएका संस्थागत र सामुदायिक विद्यालयहरूलाई सम्मानित गर्दै सम्पन्न भएको हो ।
राष्ट्रिय सभा, नेपालका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालको प्रमुख आतिथ्यमा भएको यस कार्यक्रमबाट राष्ट्रिय परीक्षा बोर्डले उत्कृष्ट ठह¥याएका देशभरका १४ सामुदायिक विद्यालय र शैक्षिक परिणाममा उत्कृष्ट रहेका ३१ निजी तथा आवासीय विद्यालयहरूलाई सम्मान भएका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले शिक्षाको गुणस्तर नीतिगत रूपमै सुधार्न आवश्यक रहेको बताए । ‘विद्यार्थीको हातमा सर्टिफिकेटसँगै ज्ञान र सीप चाहिन्छ, नेपालमा शिक्षाको विकास क्रमलाई सन्तोषजनक मान्न सकिन्छ, तर अझै पनि शिक्षाको गुणस्तर भने चिन्ता मान्नु पर्ने अवस्थामा रहेको छ,’ उनले भने । दाहालले अझै साक्षरता दर शतप्रतिशत पुगि नसेको पनि जानकारी दिए । शिक्षाको गुणस्तर वृद्धिमा सबै क्षेत्र लाग्नु पर्ने उनको तर्क छ ।
शैक्षिक क्षेत्रमा एक प्रतिष्ठित अवार्डको रूपमा परिचित केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्मा लगायत शिक्षा क्षेत्रसँग सम्बन्धित संघ संस्थाका पदाधिकारीको सहभागिता रहेको थियो । यस्तै, माननीय, योगेश भट्टराई लगायतका राजनैतिक दलका नेताहरूको पनि कार्यक्रममा उपस्थिति थियो । कार्यक्रममा ‘शिक्षा क्षेत्रका प्रोज्ज्वल नक्षत्र २०८१’ बाट लामो समयदेखि अनवरत रुपमा शैक्षिक क्षेत्रमा योगदान पुर्याउनु भएकी चाँदनी जोशी सम्मानित हुनुभयो । १९ वर्षको उमेरमा काठमाडौंको पद्मकन्या क्याम्पसमा अंग्रेजी साहित्यमा अध्यापन गराउँदै अंग्रेजी विभाग प्रमुख बनेर उहाँले शिक्षा क्षेत्रमा दिएको योगदान अन्त्यन्तै अतुलनीय छ ।
यसै गरी नेपालको शिक्षा क्षेत्रमा अतुलनीय योगदान गरिरहेका ५ जना विशिष्ट शिक्षासेवीलाई ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान–२०८१’ बाट सम्मान भएका छन् । उक्त सम्मानबाट सावित्री टण्डन, सूर्य कार्की, प्रा.डा. श्रीराम भगत माथे र सुप्रभात भण्डारी सम्मानित हुनुभएको छ ।
सो कार्यक्रममा विभिन्न स्कुल÷कलेजका विद्यार्थीहरू सहित करिव १५ सय जनाको सहभागी रहेको थियो । कार्यक्रममा ‘करियर काउन्सिलिङ’ सेसन पनि राखिएको थियो । खेमराज लकाई, रञ्जित आचार्य, मनोज ज्ञवाली, अमित अग्रवाल र निशा अधिकारीले सो सेसनबाट आफ्नो अनुभवका साथै अहिलेका विषयहरूलाई समेटेर प्रस्तुति दिएका थिए ।
प्रतिक्रिया