वर्तमान परिपेक्ष अनुकूल मौद्रिक नीति आएको छ : राष्ट्रिय सहकारी महासङ्घ

आइतबार, १३ साउन २०८१, १२ : ३६

काठमाडौँ- राष्ट्रिय सहकारी महासङ्घ नेपाल (एनसीएफ) ले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिलाई स्वागत गरेको छ ।सहकारी क्षेत्रसँगै समग्र अर्थतन्त्रलाई चलायमान बनाउने गरी लचिलो र वर्तमान परिपेक्ष अनुकूल मौद्रिक नीति आएको भन्दै महासङ्घले यसको स्वागत गरेको हो । 

पहिलोपटक मौद्रिक नीतिमार्फत सहकारी क्षेत्रका चुनौती सम्बोधन हुनुले सहकारी अभियानको मनोबल उच्च बनाएको समेत महासङ्घले जनाएको छ । बचत तथा ऋण सहकारी संस्थाहरूको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टीकृत नियामक निकाय स्थापनामा नेपाल राष्ट्र बैंकले सहजीकरण गर्ने उद्घोष सहकारीप्रति विश्वासको वातावरण पुनर्स्थापित हुने अवस्था सिर्जना भएको बताउँदै महासङ्घले नियमन तथा सुपरिवेक्षण संयन्त्र निर्माणका लागि आवश्यक कानुन बनाउन सरकारसँग समन्वय गर्ने प्रतिबद्धताले थप उत्साह बढाएको महासङ्घले बताएको छ । यसका लागि अभियानसँग समेत समन्वय गर्न महासङ्घले राष्ट्र बैंकसँग अनुरोध गरेको छ ।

समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारका सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा ५ लाखसम्मका सदस्यको बचत रकम फिर्ता गर्न नेपाल सरकारलाई सहजीकरण गर्ने व्यवस्था मौद्रिक नीतिमा समावेश भएको छ । यसले समस्याग्रस्त सहकारीका बचतकर्ता सदस्यहरूको बचत फिर्ता सहज रूपमा हुने वातावरण सिर्जना भएको महासङ्घले जनाएको छ ।

यस्तै, चालु मौद्रिक नीतिले सहकारी क्षेत्रको आत्मबल बढाउन, समस्या समाधान गर्न र आर्थिक स्थायित्वमा योगदान पुर्‍याउन महत्त्वपूर्ण विषय समेटेको महासङ्घको बुझाई छ । यस नीतिले चालु आर्थिक वर्षको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दै मौद्रिक नीतिका नीतिगत व्यवस्था पूर्ण कार्यान्वयन हुने अपेक्षा समेत महासङ्घले लिएको छ । 

आइतबार, १३ साउन २०८१, १२ : ३६

प्रतिक्रिया