लामिछाने र ऐरी आबद्ध भेनकुवरको लगातार दोस्रो हार

आइतबार, १३ साउन २०८१, १५ : ४१

काठमाडौँ - ग्लोबल टी–२० क्रिकेट लिग अन्तर्गत नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आबद्ध भेनकुवर नाईट्सले लगातार दोस्रो हार खेपेको छ । 

क्यानडाको सीएए सेन्टर, ब्राम्पटनमा शनिवार राति भएको खेलमा भेनकुवर बङ्गाल टाईगर्ससँग २२ रनले पराजित भयो । जितका लागि बङ्गालले दिएको एक सय ५३ रनको लक्ष्य पछ्याएको भेनकुवर निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ३० रनमा समेटिएको थियो । 

भेनकुवरका लागि हर्ष ठाकरले सर्वाधिक ७९ रन बनाए । डिवान प्रिटोरियसले २९ र रिजा हेनरिक्सले १० रन बनाए। नेपालका अलराउन्डर दीपेन्द्रले दुई बलमा एक बनाए । सन्दीप दुई रनमा अविजित रहे।  बलिङमा बङ्गालका कप्तान साकिब अल हसनले तीन विकेट लिए । गुरपाल सिन्धु, डेबिड विजे र शरिफुल ईस्लामले एक एक विकेट झारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बङ्गालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ५२ रन बनाएको थियो ।

बङ्गालका लागि इफ्तिखार अहमदले ५० रन बनाए । हरजततुल्लाह जाजईले ३३, डिलान हेलिङ्गरले २७ र प्रगत सिंहले २० रन जोडे । बलिङमा भेनकुवरका लागि सन्दीपले दुई विकेट लिएका थिए  । 
 

आइतबार, १३ साउन २०८१, १५ : ४१

प्रतिक्रिया